काठमाडौँ– कुनै पनि मन्त्रीहरु उपस्थित नभएका कारण रोकिएको प्रतिनिधि सभा बैठक फेरि सुरु भएको छ।
कुनै पनि मन्त्री उपस्थित नभएपछि बुधबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
उक्त १५ मिनेटको समयावधिमा सभामुखले मन्त्रीलाई बोलाएका थिए।
बुधवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्ने कार्यसूची थियो।
तर बैठक सुरु हुने समयमा मन्त्री गुरुङ काठमाडौँको होटल मेरियटमा एक कार्यक्रममा भाषण गरिरहेका थिए। कार्यक्रममा लामो वक्तव्य दिएका मन्त्री गुरुङले ‘संसदको बैठक ११ बजे छ। म जान पर्नेछ’ भन्ने कुरासमेत भनिरहेका थिए। तर उनले सयमलाई ख्याल भने गरेनन्।
त्यसपछि उनी ‘संसद बैठक स्थगित भइसकेछ, म जान पर्ने भयो’ भन्दै ढिलो गरी कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
बुधबार ११ बजे सुरु भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थिति बिना बैठकको कामकारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गरेका थिए।
सांसद पाण्डेले भन्नुभयो, ‘सरकारले सदनलाई हेपिरहेको छ, संसद्मा सरकारको प्रतिनिधि कोही पनि हुनुहुन्न, हामी समिति र उपसमितिको बैठकमा जान्छौँ, प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकारको प्रतिनिधि हुँदैनन, सरकारको उपस्थिति नभइकन आजको यो बैठकको गतिविधि अघि नबढाइयोस्।’
त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगत गरेका थिए।


