काठमाडौँ– नेपाल बार एशोसिएशनको अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रले आफ्नो प्रतिद्वन्द्वी रहेका रमण श्रेष्ठले शक्तिमा हुँदा कानुन व्यवसायीको पेट काट्ने काम गरेको टिप्पणी गरेका छन्।
महान्यायाधिवक्ता भएका बेला सत्ता र शक्तिको बलमा कानुन व्यवसायीको पेट काट्ने काम गर्ने व्यक्ति नै हकहितका एजेन्डा लिएर बारको नेतृत्व लिन अग्रसर भएको भन्दै उनले व्यंग्य पनि कसेका थिए। झापाको भद्रपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार मिश्रले यस्तो बताएका हुन्।
चैत २३ गते हुने बार चुनावमा लोकतान्त्रिक, प्रगतिशील तथा पेसागत र राष्ट्रवादी कानुन व्यवसायीको समर्थनमा मिश्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका बेला महान्यायाधिवक्ता रहेका रमण श्रेष्ठ चुनावी मैदानमा छन्।
‘महान्यायाधिवक्ता हुँदा रमणजीले सरकारी तथा गैरसरकारी संस्थाहरूले सरकारी वकिल मात्र राख्नुपर्ने परिपत्र जारी गर्नु भएको थियो। प्राइभेट वकिलको पेट काट्ने उहाँ नै हो,’ अध्यक्षका उम्मेदवार मिश्रले भने, ‘सत्तामा हुँदा वकिलहरूको पेट काट्ने व्यक्ति फेरि पनि बारमा पुगे के होला!’ शक्तिमा भएका बेला वकिलहरूकै हितविपरीत काम गर्ने व्यक्ति वकिलहरूकै हकहितका एजेन्डा बनाएर चुनावमा आउनु विरोधाभासपूर्ण भएको उनको भनाइ थियो।
रमण श्रेष्ठको टिमले न्यायालय र बारलाई स्वच्छ, पारदर्शी र बलियो बनाउन नसक्ने मिश्रको भनाइ थियो। ‘हामीले न्यायालयलाई स्वच्छ,बलियो र भरपर्दो बार बनाउछौँ। हामी वरिष्ठको सम्मान गर्ने गर्ने, नयाँ अधिवक्ताको क्षमता अभिवृद्धि गर्ने, बारलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने, लर्यस एकेडेमी स्थापना गर्ने, सामाजिक सुरक्षा कोष, राहत कोष स्थापना गर्ने लगायतका काम प्राथमिकताका साथ गर्नेछौँ,’ उनले थपे, ‘हामी भाषण र आरोप लगाउने भन्दा पनि काम गरेर देखाउने छौं।’
वरिष्ठ अधिवक्ता प्रा.डा विजयप्रसाद मिश्रले कार्यक्रममा उठेको प्रश्नहरूको पनि जवाफ दिएका थिए। उनले झापा बारले विगतमा खेलेका भूमिकाको पनि प्रशंसा गरेका थिए।
बार राजनीतिक संस्था नभएर व्यवसायिक र पेसागत संस्था भएकाले त्यसको नेतृत्व पनि गैरराजनीतिक व्यक्तिले गर्नु पर्ने उनको भनाइ थियो। ‘बार भनेको राजनीतिक फोरम होइन। बार भनेको एकेडमिक फोरम हो। प्रतिपक्षी उम्मेदवारले युटुबमा भ्रम फैलाउँदै म मात्र सत्यवादी हुँ जस्तो दाबी गर्नु भएको छ,’ उनले भने।
आफूलाई प्राध्यापक भनेर तेजोवध गर्न खोजिएको भन्दै उनले मिश्रले आपत्ति जनाए। ‘अहिलेको प्राध्यापक होइन। महासचिव हुँदै पनि प्राध्यापक थिए। म मात्र होइन यस अघिका प्राध्यापकले पनि गर्थे,’ उनले भने। उनले आफ्नो विरोध गर्ने कुनै विषय नभेटाएर विद्यार्थी पढाएर आफूले प्राप्त गरेको प्राध्यापक पदलाई निशाना बनाइएको समेत उल्लेख गरे। उनले रमण श्रेष्ठलाई चुनौती दिए, ‘उहाँलाई पनि प्राध्यापक बन्न म आग्रह गर्छु।’ न्यायालयलाई स्वच्छ, बलियो र भरपर्दो बनाउन आफ्नो समूललाई मतदान गर्न उनको आग्रह थियो।
मिश्र समूहबाट महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले २५ सदस्यीयको परिचय गराएका थिए। बारको सशक्तीकर गर्न,नागरिक अधिकार सुनिश्चित गर्न, न्यायालयमा हुने विभिन्न बेथिति/विसंगतिलाई अन्त्य गरी स्वच्छ न्यायालय बनाउन काममा हरेक कानुन व्यवसायीको जिम्मेवारी रहेको उल्लेख गर्दै त्यो जिम्मेवारी आफ्नो समूहलाई मत दिएर मात्र पूरा हुने उल्लेख गरेका थिए।
सदस्य पदकी उम्मेदवार अधिवक्ता रञ्जिता कार्कीले सूर्य पूर्वबाट उदाउने जस्तै आफ्नो समूह पनि त्यसैगरी पूर्वबाट उदाउने उल्लेख गरिन्। कोसी प्रदेशका उपाध्यक्ष पदमबहादुर लिम्बूले मिश्र नेतृत्वको टिमलाई अत्यधिक मतदान गरेर विजयी गराउन दिन आग्रह गरे।
अधिवक्ता बालकुमार कटुवालले जिल्लामा कानुन व्यवसायबाट पलायन हुने क्रम सुरु भएको भन्दै चिन्ता व्यक्त गरे। नेपाल बार एसोसिएसनका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता अशोक कुमार पोखरेलले आफूहरू एकजुट भएकाले बारको साख खस्किएका बेला मिश्र नेतृत्वले शाख उठाउने विश्वास व्यक्त गरे।
वरिष्ठ अधिवक्ता टंक उप्रेतीले कानुन व्यवसायीको मनोबल उकास्न मिश्र टिमले काम गर्नुपर्ने बताए। ‘अहिलेको नेतृत्वले बारमा कोष स्थापना गर्न सकेन। मिश्र नेतृत्वको प्यानल बारमा आए कोष स्थापनाका लागि म नै २० लाख रुपैयाँ जम्मा गर्छु। यो मुद्दामा यो टिमले काम गरोस्,’ उनले भने।
यस्तै वरिष्ठ अधिवक्ता दामोदर सापकोटाले बार सशक्त र बलियो बनाउने कुरामा ध्यान केन्द्रित गर्न सुझाव दिए।
जिल्ला अदालत बार इकाइ झापाका अध्यक्ष वसन्त नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालत बार इकाइका उपाध्यक्ष चित्रबहादुर मगरले स्वागत मन्तव्य राखेका थिए।


