काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहालको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी छलफल भएको छ। सोमबार तीन शीर्ष नेतबीच सिंहदरवारमा भएको बैठकमा यो विषयमा छलफल भएको एमाले नेता एवम् प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नि खरेलले जानकारी दिए।
‘संक्रमणकालीन न्यायको निरुपण गर्न भनेर नाम दिइएका सत्य निरूपण तथा मेलमिलाप आयोग र तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनाइएको आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल भयो,’ नेता खरेलले भने, ‘ती आयोमा पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको छ।’
केही समय अघि पनि यस्तै सर्च कमिटी बनाइएको थियो। समितिले प्रतिवेदन पनि दिएको थियो। तर पदाधिकारी नियुक्ति गर्ने विषयमा दलहरू गम्भीर बनेनन्। फेरि पुरानै प्रकृतिको निर्णय गर्दै दलहरूले समय व्यतीत गर्ने खोजेको देखिएको छ।
‘केही समयअगाडि दुइटै आयोग गठनका निम्ति सर्च कमिटी बनेको थियो। समितिले प्रतिवेदन दिएको थियो। तर काम पूरा भएको थिएन। त्यो प्रतिवेदन पनि राखियो,’ खरेलले भने, ‘दलहरूबीचमा सहमति निर्माण गरेर जाने विगतको परम्पराजस्तै तीन दलका शीर्ष नेता बसेर छलफल गर्नुभयो। त्यसमा हामी एउटा निष्कर्षमा हामी पुगेका छौं।’
यसअघि सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वमा सर्च समिति बनाएको थियो। त्यस समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्नेलगायतका प्रक्रिया पूरा गरे पनि नियुक्तिका लागि नाम सिफारिस गर्न सकेको थिएन।
छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका नेता तथा कानूनविद् खिमलाल देवकोटा, गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत पनि थिए।
बैठकपछि गृहमन्त्री रमेश लेखकले पनि आयोग बनाउने प्रक्रिया सुरू गर्ने सहमति भएको बताए। उनका अनुसार सरकारले अब छिट्टै सर्च कमिटी बनाउनेछ। मन्त्रिपरिषद बैठक सोमबारै बस्दैछ।


