काठमाडौँ- व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा कर्फ्यू लगाएको छ।
आगजनी गर्ने र सुरक्षाकर्मी तथा दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाउने निर्णय प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गरेका हुन्।
तिवारीले यसअघि गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापासँग गृह मन्त्रालयमा छलफल गरेका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ।
यसअघि तीनकुने क्षेत्रमा दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा तोडफोड र झडप गरेको थियो। निजी सम्पत्तिमाथि आगजनी पनि गरिएको थियो।
राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ।
प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडको प्रयास गरेका थिए।
आन्दोलनकारीको भिडले कोटेश्वरको भाटभटेनीमा तोडफोड गरेको छ।
उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन्।
काठमाडौँ तीनकुनेस्थि अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड र आगजनीको प्रयास भएको छ।
प्रदर्शनकारीले कार्यालयमा आगजनी गरेपछि सुरक्षा गार्डहरूले निभाएका थिए।
त्यसअघि प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगामुढा गरेका थिए।


