काठमाडौँ- चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्रीरामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो। वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालनको आशा गरेको बताउँछन्।
‘जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ,’ उनले भने।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ।
यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ। रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ।
परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ। चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ।
यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ। आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।शताब्दीयौँदेखि प्रचलनमा रहेका मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास उनको छ।
रामनवमी भगवान् श्रीरामको जन्म दिवस मात्र नभई यो दिनलाई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रुपमा पनि लिइन्छ । यस दिन मुलतः देशको विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ।
‘राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, सांस्कृतिक एवं भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्।
नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना पनि उहाँले शुभकामना सन्देशमार्फत व्यक्त गरेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उपराष्ट्रपति यादवले श्रीरामको आदर्शलाई आत्मसात् गर्दै देश र समाजमा एकता, समृद्धि र प्रगतितर्फ अग्रसरताका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिन सक्नुपर्नेमा जोड दिएका छन्।
श्रीराम धर्म र संस्कृतिको अनुपम प्रेरकका रूपमा हिन्दू समाजमा अनादिकालदेखि प्रतिष्ठित भएको उल्लेख गर्दै उनले श्रीरामले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिङ्गो संसारलाई धर्मको पथमा हिँड्न सम्भव छ भन्ने सन्देश दिएका छन्।
‘श्रीरामझैँ हाम्रो जीवन चरित्र प्रधान हुनुपर्दछ। उहाँको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा आत्मसात् गर्न सक्नुपर्दछ,’ उनले सन्देशमा भनेका छन्।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिएको उल्लेख गर्दै चैत्र शुक्ल नवमी, चैते दसैँ, अर्थात् रामनवमीको शुभकामना दिएका छन्।
रामनवमीका दिन आइतवार सरकारले सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो। मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।


