काठमाडौँ- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत काठमाडौँ जिल्ला बार, पाटन उच्च बार र ललितपुर जिल्लाबार बाहेकका स्थानको गणना सकिएको छ।
निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार काठमाडौँ उपत्यकाबाहिरका सबै केन्द्र र काठमाडौँ उपत्यकाभित्रका पनि तीन स्थानबाहेक सबै स्थानको गणना सकिएको हो।
योसँगै मंगलबारको गणना सकिएको छ। अब बुधबार बिहान ८ बजेदेखि पुन: गणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ। बिहीवारसम्ममा सबै स्थानको गणना सम्पन्न गरी अन्तिम परिणाम सार्वाजनिक गर्ने योजनामा समिति रहेको सिटौलाले जानकारी दिए।
सिटौलाका अनुसार तीन स्थानको गणना बाँकी रहँदा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर भन्दा पनि बढी मत पाएका छन्। मिश्रले २ हजार ८८२ मत पाउँदा उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले १ हजार ४२५ मत पाएका छन्।
मिश्र प्यानलबाटै महासचिव उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता केदार कोइरालाले २ हजार ८६० मत पाएका छन्। उनका प्रतिस्पर्धी श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले १ हजार २३८ मत पाएका छन्।
यो गणनामा मिश्र नेतृत्वको बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहको प्यानलले २५ वटै पदमा अग्रता बनाइरहेको छ।
मिश्रको प्यानलबाट उपाध्यक्षहरूमा अधिवक्ताहरू पदमप्रसाद लिम्बू(कोशी), अजयशंकर झा (मधेश), तेजबहादुर रावल (बागमती), भुपेन्द्र खनाल (गण्डकी), कृष्णप्रसाद पोखरेल (लुम्बिनी), विवशकुमार बस्नेत (कर्णाली), सिद्धराज ओझा (सुदूरपश्चिम) र सरस्वती श्रेष्ठ (महिला)ले अग्रता बनाएका छन्।
यो प्यानलको कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की छन्। दलित सदस्यमा चिरञ्जीवी तिल्क्यानी, मधेशी मुस्लिम (उपत्यका बाहिर) सदस्य अधिवक्ता सूर्यकुमार यादव, मधेशी मुस्लिम खुल्ला सदस्य रिंकुकुमारी यादव, आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य राजकुमार श्रेष्ठ, आदिवासी जनजाति (खुल्ला) सदस्य अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) सदस्य अधिवक्ता इन्दिरा आर्चाय, महिला (खुल्ला) सदस्य रञ्जिता कार्की, खुल्ला (उपत्यका बाहिर) सदस्यहरूमा किरण पौडेल, किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी, माधव मैनाली छन्। श्रेष्ठ वरिष्ठ अधिवक्ता हुन् भने बाँकी उम्मेदवारहरू अधिवक्ता हुन्। उनीहरू सबैले अग्रता बनाएका छन्।
श्रेष्ठको प्यानलबाट महासचिवमा बनेका न्यौपाने रास्वपानिकट कानुन व्यवसायी हुन्। श्रेष्ठ प्यानलका उपाध्यक्षहरूमा कर्णबहादुर राई (कोशी), प्रमोद प्रसाद (मधेश), डेकेन्द्रप्रसाद सुवेदी (बागमती), सुकदेव गौतम (गण्डकी), तीर्थराज ज्ञवाली (लुम्बिनी), धर्मराज न्यौपाने (कर्णाली), पदमराज शर्मा (सुदूरपश्चिम) र दिना श्रेष्ठ (महिला) उम्मेदवार छन्। कोषाध्यक्षमा दीपक राई छन्।
सदस्यहरूमा रामबहादुर मिजार (दलित), सञ्जुकुमारी शाह (मधेशी, मुस्लिम), देवशरण यादव (मधेश खुला), निश्चल राई (आदिवासी जनजाति), देवकुमार मोक्तान (खुल्ला, आदिवासी), कला त्रिताल (महिला उपत्यकाबाहिर), सुलोचना बज्राचार्य महिला (खुल्ला) रहेका छन्। खुला सदस्यतर्फका उम्मेदवारमा कृष्णप्रसाद आचार्य, हरिचन्द्र भट्टराई, रामलाल श्रेष्ठ, वीरेद्र खड्का, कान्तिराम ढुङ्गाना, जमुना भुसाल खनाल र सुनिलकुमार पटेल रहेका छन्।
श्रेष्ठको प्यानलले मिश्र प्यानललाई पछ्याइरहेको छ।
शनिबार देशभरका ३६ मतदान केन्द्रमा मतदान भएको थियो। काठमाडौँबाहिर ३५ वटा मतदान केन्द्र थिए। काठमाडौँ उपत्यकाको मतदान केन्द्रमा मात्र ६ हजार १०२ मतदाता थिए। उपत्यकामा ४ हजार ६४३ मत खसेको छ। ९ हजार ९९७ मतदाता रहेको बार निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो।


