काठमाडौँ- नेपालमा बुधवार पनि भूकम्पको धक्का महसुस गरिएको छ। यो सँगै नयाँ वर्षका पहिला तीन दिनमा दिनहुँ नेपालमा भूकम्पका धक्काहरू महसुस गरिएका छन्।
बुधवार चीनको सिगात्से क्षेत्र अन्तर्गत पर्ने दिङ्गी काउन्टीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाली सीमाक्षेत्रबाट करिब १८ किलोमिटर टाढा पर्छ।
बिहान ४:०५ बजे गएको यो भूकम्प ५ म्याग्निच्युडको भएको केन्द्रको भनाइ छ।
सिगात्से क्षेत्रमा यसअघि २०८१ पुस २३ गते ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो।
फागुन २४ गते ५.९ म्याग्निच्युडले पनि यही क्षेत्रलाई केन्द्रबिन्दु बनाएको थियो।
यी ठूला भूकम्पपछि परकम्पहरू आइरहेका छन्।
नयाँ वर्ष २०८२ का पहिला तीन दिनमा नेपालमा दिनहुँ भूकम्पका धक्काहरू महसुस गरिएका छन्।
दिंगी भूकम्पको अघिल्लो दिन वैशाख २ गते बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटक पैंकलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा पैंकलाई नै केन्द्र बनाउँदै ४.१ म्यागनिच्युड मापन गएको थियो।
उता अफगानिस्तानमा पनि बुधबार ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। युरोपियन-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) का अनुसार भूकम्प जमिनको सतहभन्दा १२१ किलोमिटर (७५ माइल) तल रहेको छ। यो भूकम्पको थप विवरण आउन बाँकी छ।


