काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रविरोधी तत्त्वहरू एमालेविरुद्ध खनिएको जिकिर गरेका छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै ओलीले यस्तो जिकिर गरेका हुन्। राष्ट्रको पक्षमा एमालेले राखेको अडानका कारण राष्ट्रविरोधी तत्वहरू एमालेविरुद्ध खनिएको उनको भनाइ थियो।
‘राष्ट्रविरोधी शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेका छन्। एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको हो,’ उनले भने। उनले सरकारतिर नभइ चुनावतिर ध्यान दिन प्रतिपक्षी दलहरूलाई सुझाव दिए।
देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुन पनि उनको आग्रह थियो। लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उनले त्यसबाट देश केही समय अलमलमा परेको उल्लेख गरे। अब भ्रममा नभई स्पष्ट दृष्टिकोणका साथ देशअघि बढ्नुपर्नेमा ओलीले जोड दिए।
ओलीले बैशाख ११ निरङ्कुशता पराजय र लोकतन्त्रले जितेको दिन भएकाले यस दिनलाई उत्सवको रूपमा मनाउनुपर्ने बताए।
निरङ्कुश व्यवस्थाको कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको उनले बताए। त्यसकाविरुद्ध अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको ओलीले सुनाए। अब देश युवाले बनाउनु पर्ने उनको भनाइ छ।


