बुटवल– लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन्। तीमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेका हुन्। बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)सँगको लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौती विषयमा आयोजित छलफलमा उद्योग वाणिज्य महासंघ सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।
उनले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको जनाउँदै वैदेशिक लगानी पहिलो रोजाइ सेवामूलक, उत्पादनमूलक र पर्यटन क्षेत्रमा रहेको भनाइ राखे। त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ७८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र करिब १ लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेको उनले जानकारी दिए।
तराईका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको जम्मा क्षेत्रफल २२ हजार २८८ वर्गकिमि छ। यो प्रदेश प्रचुर कृषि भूमि तथा प्राकृतिक रुपमा धनी प्रदेशका रुपमा रहेकाले कृषिजन्य तथा वन पैदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको उनले बताए। उनका अनुसार राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ।
लुम्बिनीमा दुई औद्योगिक क्षेत्र र भैरहवामा विशेष आर्थिक क्षेत्र रहेका छन्। त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक करिडोर रहेका छन्। यी करिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगको ५० प्रतिशत उद्योग रहेका छन्।
रुपन्देहीमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र र बाँकेमा नौवस्ता औद्योगिक क्षेत्र रहेका छन्। यी औद्योगिक क्षेत्रको निर्माण र सञ्चालनको ढिलाइले उद्योग विस्तार तथा वैदेशिक लगानीमा तीव्रता आउन नसकेको उनले बताए।
सिद्धार्थनगर उद्योग वाणिज्य संघ अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भए पनि नीतिगत अस्पष्टताका कारण पर्याप्त लगानी आकर्षण हुन नसकेको धारणा व्यक्त गरे। उनले लामो समयदेखिको बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको लगानी योग्य पुँजीको अभाव एवं ब्याजदरमा भएको अस्वाभाविक वृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न मुस्किल भएको बताए।
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)का प्रमुख, आवासीय प्रतिनिधि बाबाकर एस फेइले आइएफसी विश्व बैंक समूहको सदस्य उदीयमान बजारमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशमा बजार र अवसर सिर्जना गर्न पुँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरेर १०० बढी देशमा काम गर्दै आएको जानकारी गराए।
यसले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावश्यक सेवा विद्युत्, दूरसञ्चार, यातायात, खानेपानी र सरसफाइजस्ता पूर्वाधार परियोजना विकास गर्न दीर्घकालीन वित्तपोषण र उद्योग–अग्रणी विशेषज्ञता प्रदान गर्ने उनको भनाइ छ।
उनका अनुसार आइएफसी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा ४५३ मिलियन डलरको ऋण फाइनान्सिङ प्याकेजको प्रमुख प्रबन्धक हो, जुन नेपालमा सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी हो। कार्यक्रममा यस क्षेत्रका उद्योगी, व्यवसायीको बाक्लो सहभागिता थियो।



