काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई ट्रोल बनाइएको ‘कीर्तिपुरको डाँडो’को फेरि स्मरण गरेका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रममा सम्बोधन गर्दै उनले ट्रोल ‘कीर्तिपुरको डाँडो’ सम्झिएका हुन्।
सीप र क्षमता भए कीर्तिपुरको डाँडो मात्र नभएर जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई-तीन लाख कमाउन सकिने उनको भनाइ थियो।
‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईं सबैलाई त्यही प्रसंग याद आउँछ। एउटा डाँडामा बसेर दुई-तीन लाख कमाउन सकिन्छ भनेर मैले भनेँ। कतिलाई रमाइलो कुरा भयो। तर त्यो ड्रिम हो, सम्भव छ,’ थापाले भने, ‘एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ। अब हामी नलेज इकोनोमीमा छिरेका छौँ। अहिले चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर च्याट जिपीटीसँग कम्पिटीसन गर्छु भन्ने ठाउँमा पुगेको अवस्था छ।’
विपन्न लक्षित कार्यक्रम पनि सीपसँग जोडिनुपर्ने बताएका थिए। ‘सीप खाली खोस्रिने र कतार मलेसियामा गएर डुङ्गाको गाह्रो लगाउने मात्रै होइन। त्यो सीप सूचना प्रविधिले ल्याएको अवसरलाई प्रयोग गर्ने सीप हामीले विपन्न परिवारको मान्छेलाई उपलब्ध गराउन सक्नुपर्छ,’ थापाको भनाइ थियो।
गगन थापाले आफूलाई ट्रोल/भाइरल बनाइएका विषयहरू बेलाबखतमा स्मरण गर्दै आएका छन्। यसअघि पनि उनले पटकपटक कीर्तिपुरको डाँडो सम्झँदै आएका थिए।


