काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक राखेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा परिषदको बैठक राखिएको हो।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थिति छ।
भारतले पाकिस्तानमाथि हमला गरेपछिको अवस्था र नेपालमा पर्न सक्ने त्यसको असरका विषयमा बैठकमा कुराकानी हुने स्रोतको भनाइ छ।
संविधान अनुसार मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई रायसल्लाह दिने जिम्मेवारी परिषद्को हो। यसकै लागि बैठक बोलाइएको छ।
परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा रहन्छ। रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति सदस्य रहने परिषदमा रक्षासचिव सदस्यसचिव रहने व्यवस्था छ। तर बैठकमा परराष्ट्रमन्त्री डा आरजू राणा देउवा उपस्थित छैनन्।
यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो। उक्त बैठकले सीमा, विमानस्थललगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो।
नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ। उक्त भागको धारा २६६ को उपधारा (१) मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहेको राष्ट्रिय सुरक्षा परिषद् रहने उल्लेख छ।
सेनाको परिचालनको सिफारिस, सेनाको सुदृढीकरण एवम् आधुनिकीकरणको कार्ययोजना सिफारिस, हातहतियार नीति सिफारिस, प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गरी सिफारिस गर्ने जिम्मेवारी परिषद्को हो। राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयनको नियमित अनुगमन गर्ने जिम्मेवारी पनि यसकै हो।
बुधवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्न सक्ने प्रभावबारे सचेत रहन सरकारलाई आग्रह गरेका थिए।
भारत र पाकिस्तानबीचको तनावले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउनुपर्ने उनको भनाइ थियो।
भारत-पाक द्वन्द्व बढिरहेका बेला पाकिस्तानी सैन्य टोली भने नेपाल भ्रमणमा छ। पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानी सैन्य प्रतिनिधिमण्डलको नेपाल भ्रमणका विषयमा सदनमा प्रश्न उठाए।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा नेता साउदले भारत र पाकिस्तानबीच गम्भीर तनाव भएको समयमा पाकिस्तानी सैन्य भ्रमण स्थगन गर्नु पर्ने उनको भनाइ आएको हो।
‘पहलगाम आतंककारी घटनाले छिमेकी भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न गराएको छ। यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भइसकेको छ,’ साउदले भने, ‘तर, छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्थानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ।’
भ्रमण पूर्वनिर्धारित नै भए पनि परिस्थिति आकलन गरेर स्थगित गर्नु पर्ने बताए। ‘वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ भ्रमण स्थगित गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने थियो,’ साउदले भने।
यही वैशाख ९ गते भारतको जम्मुकस्मिरस्थित हिंसात्मक आक्रमण गर्दा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो।
नेपाली सेनाले वैशाख २१ गते विज्ञप्ति जारी गरी भ्रमणबारे औपचारिक जानकारी गराएको थियो। पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीमा तालिमरत शिक्षार्थीको १२ सदस्यीय उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डल ६ दिने नेपाल भ्रमणमा आएको जानकारी गराइसकेको छ।
उक्त टोलीले नेपालका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने जानकारी नेपाली सेनाले गराएको छ। तर, मित्रराष्ट्रको उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डल नेपालमै रहेका बेला सदनमा भने त्यही विषयमा प्रश्न उठेको हो।
केही अघि मात्र नेपालका प्रधानमन्त्रीलगायतका ३० भन्दा बढी राजनीतिक व्यक्तिहरूलाई भेटेर भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख स्वदेश फर्किएका थिए। उनी फर्किएलगत्तै भारतले पाकिस्तानमाथि आक्रमण सुरु गरेको हो। पछिल्लो आक्रमणमा भारततर्फ १० र पाकिस्तानतर्फ ३०जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले समाचार प्रकाशन गरेका छन्।


