काठमाडौँ- २०७२ को भूकम्पको क्षतिबाट पुनर्निर्माण गरिएको बारपाकको फोटो प्रदर्शनी र कुण्डलिनी कला प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा आगामी जेठ १ देखि ३ गतेसम्म बोर्डपरिसरमा उक्त प्रदर्शनी गर्न लागिएको हो।
फोटोपत्रकार प्रकाशचन्द्र तिमल्सेनाले खिचेको बारपाकको फोटो प्रदर्शनी हुन लागेको बोर्डले जनाएको छ। नेपालको भावनात्मक गहिराइ, सिर्जनात्मक र प्रेरणादायी प्रदर्शनीहरू गर्न लागिएको बोर्डले जनाएको छ।
गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवसका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो। यो प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई प्रभावशाली फोटोहरूको माध्यमबाट चित्रण गर्ने आशा गरिएको छ।
बोर्डले विभिन्न व्यक्ति र संस्थाहरूको सहकार्यमा नेपालका दृश्य सम्पदा र सामूहिक स्मृतिलाई दस्तावेज गर्दै आएको उल्लेख गरेको छ । लगत्तै आगामी जेठ ४ देखि १० गतेसम्म पर्यटन बोर्डले कलाकार भीमप्रसाद शर्माको १३औँ एकल कला प्रदर्शनी ‘कुण्डलिनी–२ : दिव्य जागरणको ऊर्जामार्ग’ प्रस्तुत गर्नेछ।
‘यी दुई प्रदर्शनीहरूले नेपाललाई केवल देखिने मात्र होइन, अनुभव गरिने देशका रूपमा प्रस्तुत गर्ने विश्वास छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने।
