लमजुङ- नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते भएका छन्।
लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो।
खुकुरी प्रहारबाट घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ र नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत छन्।
यस्तै, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए।
घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमीलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ। प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो।
कांग्रेस लमजुङ जिल्लाका निवर्तमान सभापतिसमेत रहेका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलको समूहले प्रतिनिधि छनोटमा रोक लगाइएको भन्दै कांग्रेस लमजुङका जिल्ला सभापति डा टकराज गुरुङ समूहले विरोध गरेपछि विवाद सुरु भएको थियो। अधिवेशनस्थलबाट विरोध गर्नेहरूलाई बाहिर निकाल्न थालिएपछि कार्यक्रमस्थलको गेटबाहिर खुकुरी प्रहार भएको घाइते पौडेल पक्षका प्रदीपजंग बस्नेतको भनाइ छ।
लमजुङ कांग्रेसमा पौडेल र गुरुङ पक्षधरबीच वैमनश्यता छ। संस्थापन समूहका गुरुङ पक्षधरले पूर्णकालीन सदस्य हटाउने, प्रतिनिधि छनोटमै रोक्ने काम गरेको विरोध गर्दा ज्यान मार्ने मनसायले खुकुरी प्रहार गरिएको पौडेल पक्षधरको आरोप छ। घाइतेहरू सबै संस्थापनइतर भेषबहादुर समूहका हुन्।
तरुण दल लमजुङ अध्यक्षका आकांक्षीसमेत रहेका खुसीजंग, नेता भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारीलगायतलाई प्रतिनिधि बन्नबाट रोकिएको भन्दै भेषबहादुर समूहले विरोध चर्काएको थियो। उनीहरूले गुरुङविरुद्ध नाराबाजीसमेत गरेका थिए। अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेलसमेत सहभागी थिए। अधिवेशनमा खुकुरी प्रहार नै भएपछि प्रहरीले जाहेरी प्रक्रिया अगाडि बढाएको छ।
लमजुङ कांग्रेसका सभापतिमसेत रहेका आर्थिक मामिलामन्त्री डा. टकराजले भने घटनालाई सामान्यीकरण गर्न खोजेका छन्। कांग्रेस लमजुङका निवर्तमान सभापतिसमेत रहेका भेषबहादुरले सभापति तथा अर्थमन्त्री डा. टकराजको अकर्मण्यताले घटना भएको आरोप लगाएका छन्। दुवै पक्षबीच विवाद समाधानको प्रयास भएको छैन।
जिल्लाका हरेक भातृसंगठन कब्जा गर्न खोजेको र अधिवेशनको वातावरण हिंसात्मक बनाउने उद्योग हालका सभापति डा. गुरुङ पक्षधरले गरेकव पौडेल समूहको आरोप छ। अघिल्लो जिल्ला अधिवेशनमा डा. टकराज भेषबहादुरसँग पराजित भएका थिए। १४औं महाधिवेशनमा डा. गुरुङले भेषबहादुर समूहका गमप्रसाद गुरुङलाई हराएका थिए।
कांग्रेस केन्द्रमा गुरुङ सभापति शेरबहादुर देउवा पक्षधर भनेर चिनिन्छन्। पौडेललाई मन्त्री बनाउन महामन्त्री गगन थापाले प्रयास गरेका थिए।
खुकुरी प्रहारपछि अधिवेशन स्थगन गरिएको छ।
(शीर्षकमा लमजुङ हुनुपर्नेमा यसअघि अन्यथा पर्न गएकाले सच्याइएको छ।-सं)


