काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले समिति सभापति अम्वरबहादुर थापालाई उपसमितिको प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
उपसमितिले विद्यालय शिक्षा विधेयकको विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन तयार पारेको छ। १०१ दफामा परिमार्जन गरिएको, १३ वटा नयाँ दफा थप गरिएको, ४ वटा दफालाई हटाइएको र ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरूपमा टुङ्गोमा पुर्याइएको विश्वकर्माले जानकारी दिए।
निजी लगानीका विद्यालय र प्रारम्भिक बाल विकाससँग सम्बन्धित विषयमा कुनै निष्कर्षमा नपुगी उपसमितिले प्रतिवेदन बुझाएको छ।उपसमितिले चैत १८ गतेदेखि काम सुरू गरेको थियो। वैशाख २१ गतेसम्म ३९ वटा बैठक बसी उपसमितिले छलफल गरेको थियो।
निर्धारित समयमा काम नसकिएपछि उपसमितिले थप १० दिनको समय पाएको थियो। थप भएको समयमा उपसमितिको ४६ वटा बैठक बसेको थियो।


