टोकियो- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ।
शुक्रबार टोकियोस्थित जाइकाको मुख्यालयमा भएको भेटमा नेपाल-जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो।
भेटमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन्।
मन्त्री डा. राणाले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरेकी थिइन्।
मन्त्री डा. राणाले भेटमा पछिल्लो समयमा नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली-बर्दिबास सडकको पुनर्निर्माण एवं मर्मत सम्भारलगायत नेपालका कैयौँ क्षेत्रमा जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगको पनि प्रसंशा गरेकी थिइन्।
भेटमा उनीहरूबीच नेपाल-जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकहरूसम्बन्धी विषयमा पनि कुराकानी भएको थियो।


