इलाम–इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सम्पन्न भएको छ। आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो।
काम सम्पन्न भए पनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ। नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि काम सुरु भएको थियो। योजनाको काम रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर अगाडि बढाएको थियो।
एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो। यो जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो। पाँच प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ। सुरुमा स्थानीय उपभोक्ताले १५ हजार २ सय रकम बुझाएका थिए। यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चार वटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए।
आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिब ४३ लिटर पानी आइरहेको छ। आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको हो। आयोजनाअन्तर्गत सुरुमा २ हजार ८७७ घरमा पानी वितरण गर्ने लक्ष्य लिइएको थियो।
पछि थप भएर ३ हजार ३४४ घरमा आयोजनामार्फत नै खानेपानी वितरण भएको छ। पुनः ३ सय बढी उपभोक्ताको संख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ। पछि रकम जम्मा गर्ने उपभोक्ताको घर–घरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ।
हाल दैनिक दुई पटक पानी वितरण गरिँदै आएको निर्माण कम्पनीका इञ्जिनियर कपिलदेव यादवले बताए। हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहे पनि यसलाई आफूहरूले मर्मतको काम गरिरहेको उनको भनाइ छ। गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ।
उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ। निर्माण सम्पन्न भएपछि सो आयोजनाको शनिबार अनुगमनसमेत गरिएको छ। जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समिति पदाधिकारीको उपस्थिति थियो।



