काठमाडौँ- प्रतिपक्षी सांसदहरुले प्रतिनिधि सभामा नै गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका छन्।
बुधवार बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका हुन्।
प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री समेत संलग्न भएको भन्दै प्रतिपक्षीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले बैठक विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।
बुधवारको बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर विरोध गरेका थिए।
तर सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।


