काठमाडौँ- भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्को विवाद भएको छ।
सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरुले आपत्ति जनाएपछि चर्को विवाद भएको हो।
बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरको धारणा राखेका थिए। उनले संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्विप मानेर निरिह बनेर बस्ने गरेको टिप्प्णी गरेका थिए।
सांसद पराजुलीले भिजिट भिसा प्रकरणको बिषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग समेत गरेका थिए। भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो? भन्दै उनले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरुले आपत्ति जनाएका थिए।
नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताएका थिए। उनले विषयवस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै रुलिङ गर्न माग गरेका थिए।
विवाद भएपछि समिति सभापति अब्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए। सांसद पराजुलीले आफ्नो समयभित्र विषयवस्तु राख्दा आपत्ति हुनुपर्ने कारण स्पष्टसँग चाहिने बताए। त्यसपछि पुनः कांग्रेस सांसद थापाले आफूहरूलाई निरिह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो? भन्दै आक्रोशित भएका थिए। रास्वपा सांसद पराजुलीले मानवतस्करीविरुद्ध सबैको एकमत भए छानबिन समिति गठन गर्न चूनौती दिएका थिए।
पुनः विवाद बढेपछि सभापति अब्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखे।
त्यसपछि आफूले बोलेको विषयमा नै छानबिन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाएका थिए। त्यसपछि फेरि विवाद भएपछि सभापति खानले विषयवस्तुमा बोल्न आग्रह गरे।
अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहोर्याएका थिए।


