काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिको कुनै औचित्य नभएको जनाएको छ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले पूर्वकर्मचारीको संयोजकत्वमा बनाइएको समितिको कुनै औचित्य नभएको र यसले निष्पक्ष रुपमा काम गर्न नसक्ने बताए।
वाग्लेले सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागीमाथि पनि प्रश्न उठाए। विगत १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्रका रूपमा परिचित बैरागी नै राडारमा रहेको उनले बताए।
‘गम्भीर आपराधिक विषयलाई सरकारले कर्मकाण्डीमा टुङ्गाउन खोजेको छ,’ उनले भने।
भिजिट भिसा प्रकरणको छानबिनका लागि जाँचबुझ आयोग ऐन २०२६ अनुसार बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन हुनुपर्ने रास्वपाको माग यथावत रहेको स्पष्ट पारे।
सरकारले भिजिट भिसा प्रकरणमा मुछिएकालाई जोगाउने खराब नियतका साथ समिति गठन गरेकाले रास्वपालाई स्वीकार्य नहुने उनको भनाइ छ।


