काठमाडौँ- राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा अघि बढाइएको छ। सुरुङमार्ग निर्माणका लागि मुख्य सुरुङ खन्ने काम (इन्भर्ट) सम्पन्न भएको छ। इन्भर्टको काम सम्पन्न भएपछि अहिले ‘लाइनिङ’ (सुरुङभित्र बनेको सडकको माथिल्लो भागको परिधि फिक्सिङ)को काम धमाधम अगाडि बढेको छ। अहिलेसम्म ८३४ मिटर सुरुङमार्गमा लाइनिङ पनि सकिएको हो।
सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीका अनुसार ‘इन्भर्ट’ निर्माणको काम बुधबारदेखि सकिएको हो। ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ। हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ,’ उनले भनिन्।
सुरुङमार्गमा मुख्य टनेलको कुल १ हजार ८९ मिटरमा इन्भर्टको निर्माण काम सकिएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६.३ पुगेको छ।
यसैगरी, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको आयोजनाले जनाएको छ।
२०८१ माघ ११ गते सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको ज्ञवालीको भनाइ छ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि बुटवल पावर हाउससम्म १ हजार १२६ मिटर लामो सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो।
सुरुङमार्ग पञ्चवर्षीय योजना अनुसार २०८३ मा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले जिम्मा लिएको थियो। उसले ७ अर्ब ३४ करोड २१ लाख ४० हजारमा यो आयोजना बनाइसक्ने योजना बनाएको छ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ। सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।
पाल्पा-सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुंगा सुरुङमार्गका लागि सरकारले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ६० करोड विनियोजन गरेको छ।
ज्ञवालीका अनुसार सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्ने गरी तीन वटा बाइपास बनाइएको छ। तेस्रो र पहिलो बाइपासको ब्रेक थ्रु गत भदौ २६ तथा ४ असोजमा भएको थियो भने दोस्रो बाइपासको ब्रेक थ्रु गत ७ पुसमा गरिएको थियो।
पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको एक सय ६१ र तेस्रोको एक सय ३० मिटर रहेको छ।
सिद्धार्थ राजमार्ग भएर साना–ठुला दैनिक हजारौँ सवारी साधन बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरूमा ओहोरदोहोर गर्ने गर्छन्। सुरुङमार्गको निर्माणपछि यस क्षेत्रको यातायात सहज हुने अपेक्षा गरिएको छ।


