काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बजेट ल्याउने गरी तयारी अघि बढाएका छन्। मेयर बालेन्द्र निकट स्रोतका अनुसार असारभित्रै नगरसभामा बजेट पेस गर्ने गरी तयारी अघि बढाइएको हो।
महानगरको बजेट ल्याउनुअघी स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले बजेटको सिलिङ तोक्नुपर्ने हुन्छ। उक्त बैठक बुधवारका लागि बोलाइएको स्रोतको भनाइ छ। काठमाडौँ महानगरका एक जना वडाध्यक्षले पनि बुधवार स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने बताए। समितिको सदस्य–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ।
स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी प्रावधान छ। सात महिना लामो विवादका कारण महानगरमा कार्यपालिका बैठक समेत बस्न सकेको छैन। बैठक नबस्दा महानगरको बजेट पनि अन्योलमा छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग मेयर बालेन्द्र शाह (बालेन) बैठक बस्न तयार नहुँदा समस्या झन जटिल बनेको थियो। मेयर बालेन्द्र साह र प्रमुख प्रशासकिय अधिकृती सरोज गुरागाईबिच असमझदारी हुँदा लामो समयदेखी कार्यपालिका बैठक बस्न र समयमै बजेट ल्याउन समेत नसकेको काठमाडौँ महानगरपालिले यसै साता कार्यपालिका र नगरसभाको बैठक पनि राख्ने तयारी गरिएको हो।
स्रोतका अनुसार २५ गते स्रोत निर्धारण समितिको बैठक बस्ने, २६ गते कार्यापालिका बैठक राख्ने र २७ गते नगरसभा आह्वान गर्ने तयारी छ। तर वडाध्यक्षहरूले आफूहरूलाई औपचारिक रूपमा भने कुनै पनि जानकारी नआएको जिकिर गरेका छन्।
यो साताभित्रै स्रोत निर्धारण समिति, कार्यपालिका र नगरसभालगायतका बैठकहरू बस्न सक्ने भएकाले काठमाडौँ महानगरभित्रका ३२ वटै वडाध्यक्षहरुलाई उपत्यकाबाहिर नजान प्रवक्ता मान्नधरले आग्रह समेत गरेका छन्।
‘यो साताभित्रै कार्यपालिकाको आकस्मिक बैठक बोलाइने हुँदा वडाध्यक्षहरूलाई काठमाडौं बाहिर नजान प्रवक्ता नवीन मानन्धरले आग्रह गर्नुभएको छ,’वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले भने, ‘उस्तै परे एक–दुई घन्टाभित्रै उपस्थित हुनुपर्ने गरी बैठक बोलाइन सक्छ।’
यस अधि मेयर शाहले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका बैठक बोलाउने अडान लिएका थिए। तर त्यसपछि पनि बैठक बस्न सकेको थिएन।
‘कार्यकारीलाई विदामा बस्न लगाएर बजेट ल्याउने कुरा भएको थियो तर त्यसमा उपमेयर र एमालेका वडाध्यक्षहरू सहमत हुनु भएन,’ वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडाले भने, ‘धेरै छलफलपछि उहाँहरू नगरवासीको हितका लागि एक कदम पछाडि हट्न तयार हुनुपर्ने भन्दै राजी हुनुभएको हो।’
कामपा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि बजेट ल्याउन आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताएका छन्। ‘म काठमाडौँ महानगरको बजेट आउनुपर्छ भन्नेमा छु। मेयरसाब तथा उपमेयरज्यू र जनप्रतिनिधिका निर्णयहरूमा बाधक बन्दिनँ भनेर भन्दै आएको छु,’ उनले भने, ‘अहिले जुन ढंगले बजेटसँग काठमाडौं टावरको विषयलाई जोडिएको छ, त्यसो गर्न हुँदैन भन्ने लाग्छ। कसैले ‘तँ भ्रष्टाचारी हो’ भनेर भन्ने बित्तिकै ऊ भ्रष्टाचारी हुँदैन।’
काठमाडौँ महानगरले तोकिएको समयमा बजेट ल्याउन नसकेपछि एमाले राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालेनलाई भेट्न बोलाएका छन्। राजनीतिमा सक्रिय भएको घोषणासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेटका लागि बोलाएकी हुन्।
गत बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई निवासमा बोलाएर उनले कुराकानी गरेकी हुन्। बालेन निकट स्रोतका अनुसार विद्याले बोलाएपछि बालेन भण्डारीको निजी निवास भंगाल पुगेका थिए।
भेटवार्ताका क्रममा एमाले नेतृ भण्डारीले काठमाडौँ महानगरपालिकाका गतिविधिबारे चासो राखेकी थिइन्। आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग सोधेकी थिइन्। बालेन काठमाडौँ महानगरको अवस्थाबारे विद्यालाई ब्रिफिङ गरेका थिए।
बालेनका कुरा सुनेपछि विद्याले आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएकी थिइन्। कानुनी व्यवस्था अनुसार स्थानीय तहले असार १० गते नै नगर/गाउँसभामा बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर काठमाडौँ महानगरमा अझसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक मात्र होइन, बजेट तर्जुमा तथा कार्यत्रम समिति र मेयर नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्त्वपूर्ण समितिका बैठकसमेत बस्न सकेको छैन।


