काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई चेतावनी दिएका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठकमा सुरुवाती भाषण गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन्। चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिँडेको भन्दै आक्रोश व्यक्त गरे।
‘जता जाँदा पनि पछ्याउन पर्ने? चुनाव हारेकाहरूले पछ्याएर हिँड्ने?,’ओलीले व्यंग्य कसेका थिए। विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न उनले नेताहरूलाई भनेका थिए। ‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्यो त्यो,’ अध्यक्ष ओलीले भने, ‘उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन।’
उनले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने दृढता व्यक्त गरे। विद्या भण्डारीका गतिविधिलाई उनले अस्वस्थ गतिविधि भन्ने संकेत गरेका थिए।
पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला व्यहोरेको समेत बताए। उनले एमाले विभाजन ल्याउन लगानी भएको समेत आरोप लगाए।
‘अस्ति पोलिटब्यूरो बैठकपछि एमाले एकढिक्का छ। हामीले हाम्रो अभिभारा बुझेका छौँ। हाम्रो जिम्मेवारी बुझेका छौं भनेर निस्कियौं,’ ओलीले भने, ‘मलाई अचम्म लागेको छ, हामीलाई असाधारण हमला भैराखेका छन्। यी त्यसै भएको छैनन्, लगानी गरेर भएका छन्।’
अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग सबैकुरा खुला रुपमा राखेको बताएका थिए।
‘हिजो पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति बीचको भेटघाटको प्रसंग पनि छ, पूर्वराष्ट्रपतिको आग्रहमै १० औं वर्ष पार्टी अफिसमा म जान सकिरहेको छैन, हेरेको छैन भनेर पार्टी अफिसमै गरौँ भन्ने सल्लाह बमोजिम भेट भयो,’ ओलीको भनाइ उल्लेख गर्दै गौतमले भने, ‘भेटका क्रममा सबै कुरा खुलस्त ढंगले प्रस्तुत भएको छ। राष्ट्रिय राजनीति कसरी अघि बढेको छ, नेकपा एमालेमाथि कसरी प्रहार भइरहेको छ, एमालेमाथि प्रहार गर्ने तत्वहरु कसरी सल्बलाइरहेका छन् भन्नेदेखि सरकारले गरेका काम विधान अधिवेशनको तयारीका सन्दर्भमा एकअर्कामा खुला रुपमा छलफल भएको कुरा भन्नुभयो।’
विद्याको पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद नरहेको र यो विषयलाई केन्द्रीय कमिटीले निर्णय गर्ने उनको भनाइ थियो।
ओली पक्षमा खुले गण्डकीका नेताहरू
बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ। गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरुले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनका विषयमा धारणा राख्न सुरु गरेका हुन्।
बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजिव पहारी, पदम गीरी,रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत,नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका हुन्।
अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिट ब्युरोलेबाट सर्वसम्मत निर्णय भएर आएको विधान संसोधन प्रस्तावलाई समर्थन गरेको दाबी गरिएको छ। केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताए।
अर्का केन्द्रीय सदस्य पहारीले एघारौं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउन सबै केन्द्रीय सदस्यलाई आह्वान गरे। पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनु पर्ने बताए।
उपाध्यक्ष एवं विधान संशोधन समितीका संयोजक विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तव प्रस्तुत गरेका थिए भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्तावकाका विषयमा जानकारी गराएका थिए।


