इनरुवा (सुनसरी)- पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ।
सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक पानीको बहाव छ। सोमवार राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक रहेको थियो।
सोमबार राति १० बजे कोसी ब्यारेज प्रशासनले पानीको बहाब एक लाख ७९ हजार ७४० क्युसेक पानीको बहाव रहेको जानकारी गराएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताए। अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले बताए।
कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजारभन्दा बढी भएपछि सचेतताका लागि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको जोखिममा छ। बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोसी आसपासका गाउँघर सप्तकोसीको बाढी तथा डुबानको जोखिममा परेका हुन्। सप्तकोसी आसपासका गाउँघर क्षेत्र नदी कटानको जाखिममा पर्न थालेका बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताइन्।
नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुन सक्ने भएकाले पूर्वतयारीका लागि उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
लुइँटेलका अनुसार बेलकाको सप्तकोसीको कटानयुक्त क्षेत्रको अवलोकन र स्थलगत भ्रमण गरेर जानकारी लिइएको बताए। अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरिएको छ।
बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोसी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहेर बस्न भनिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ। जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिलगायतको टोलीले स्थलगत अवलोकन गरी पूर्वतयारी थालिएको नगरप्रमुख अशोक कार्कीले बताए।
गत वर्ष असोज १३ गते बिहान सप्तकोसी नदीको बहाव प्रतिसेकेन्ड ६ लाख ६१ हजार ५ क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको थियो। उक्त दिन बिहान ३ बजे ६ लाख ४३ हजार ५४० क्युसेक पानी बहेको थियो।
गत वर्षकै असोज १२ गते सप्तकोसी नदीमा पानीको वहाव ६ लाख क्युसेक पुगेको थियो। पानी बढेपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको थियो। ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ।
त्यसको केही दिनअघि भारतको पटनास्थित जल संसाधन विभागले कोसीमा पानीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेको औँल्याएको थियो।
कोसी नदीमा पानीको बहाव बढ्दा भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा क्षति हुन सक्ने सम्भावन हुन्छ। नदीमा पानीको बहाव १ लाख ७५ हजार क्युसेकभन्दा बढी भए खतराको संकेत गरिन्छ।
सन् १९६८ अक्टोबर ५ मा सप्तकोसी नदीमा ७ लाख ८८ हजार २ सय क्युसेक पानी बगेको थियो। यो हालसम्मकै उच्च हो।
ब्यारेज बनाउँदा ९ लाख क्युसेक पानीको बहाब धान्न सक्ने गरी निर्माण गरिएको निर्माण पक्षको दाबी थियो।
पछिल्लो समय नदीको माथिल्लो भागमा बालुवा थुप्रिएका कारण पानीको बहाब कम भए पनि जोखिम भने बढी हुने गरेको छ।
२०६३ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानी पुग्दा नै पूर्वीतट भत्किएर ७ हजार ५३६ परिवार विस्थापित भएका थिए।
क्युसेक भनेको पानीको प्रवाह मापन गर्ने एकाइ हो, जसको पूरा रूप ‘क्युबिक पर सेकेन्ड’ (प्रति सेकेन्ड घनफिट)हो। एक क्युसेक भनेको प्रत्येक सेकेन्डमा एक घनफिट पानी बग्नु हो। एक क्युसेकमा करिब २८.३१७ लिटर पानी जम्मा हुन्छ।
कोसी ब्यारेजमा पानीको बहाब बढेसँगै नेपाल र भारत विहारका नागरिकलाई जोखिम बढ्ने गरेको छ।
एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोसी ब्यारेज भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले निर्माण गरेको हो। ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आउन थालेको हो।
कोसी ब्यारेजमा सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा ढोका छन्। ब्यारेजको लम्बाई एक हजार १ सय ४९ मिटर रहेको छ।


