काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा भएको अव्यवस्थापनको विरोध गरिरहेका विभिन्न १० क्लबले कालो पट्टी बाँधेर लिग खेल्ने बताएका छन्। आफूले पाउनु पर्ने तयारी खर्च नपाएको, म्याच मनि नदिएको, खेलाडीलाई मार पर्ने गरि कर काटेको, अभ्यासका लागि बललगायत सामान उपलब्ध नगराएको भन्दै विरोध गरिरहेका क्लबहरुले आयोजक एन्फाको विरोधस्वरुप कालो पट्टी बाँधेर लिग खेल्ने जानकारी दिएका हुन्।
अहिले नेपालमा सहिद स्मारक ए डिभिजन लिग चलिरहेको छ। यसैबीच अखिल नेपाल फुटबल संघले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा गरेर अभ्यासका लागि बोलाएको छ। भारतमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले टोली घोषण गरेका थिए। तर लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने जानकारी प्रेस विज्ञप्तिमार्फत् दिएका छन्।
लिग खेलिरहेका १० क्लबले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै लिगपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेको जानकारी दिएका हुन्।
एन्फाले शीर्ष डिभिजनका क्लबलाई तयारी खर्च स्वरूप पहिलो किस्तामा १५ लाख, दोस्रो किस्तामा १० लाख र तेस्रो किस्तामा ७ लाख ५० हजार दिने निर्णय गरेको थियो। पहिलो किस्ताको रकम भने क्लबले पाईसकेका छन्। बाँकी रकमा उनीहरुले नपाएको गुनासो गरेका छन्। यस्तै एन्फाले हरेक खेलको विजेतालाई म्याच मनि वापत ५० हजार, खेल बराबरी भएका २५–२५ हजार र म्यान अफ दि म्याचलाई १० हजार दिने निर्णय गरेको थियो।
