काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको २३ औं चरणमा जित निकालेर उपाधि सम्भावना बलियो बनाउने दाउमा थिए चर्च बोइज क्लब र जावलाखेल क्लब। शनिबार दशरग रंगशालामा यि दुई टिमबीच खेल हुँदा दुवैको गोल गर्ने भोक प्रस्ट देखिन्थ्यो। भारतिय खेलाडीलाई विर्सने हो भने कुनै विदेशी खेलाडी यि दुई टिममा थिएनन्। यद्यपी खेल भने रोमाञ्चक बन्यो।
चर्च बोइजले गोलका निकै राम्रो प्रयासहरु गरेको थियो। तर अग्रताका लागि भने पेनाल्टीबाट आएको अवसर नै पर्खिनु परेको थियो। पहिलो हाफमा अग्रता बनाएर दोस्रो हाफमा दुई गोल गरेपछि चर्च बोइजले जित निकालेकाे हो।
‘टिममा विदेशी खेलाडी नभएको अवस्थामा पनि लक्ष्य अनुसार खेलेको छ। सबै क्रेडिट खेलाडीलाई जान्छ। केही समय भने बल पोसेसन आउन सकेको छैन। तर यो नै अन्तिम फाइट भने होइन्। अर्को खेलमा अझै धेरै राम्रो खेल्नेछौं,’ उपाधि नजिक पुगेपछि प्रशिक्षक बालगोपाल महर्जनले भनेका छन्। अहिले टिममा विदेशी खेलाडी घटेका छन्। श्रम स्वकृति सकिएपछि उनीहरुले खेल्न पाएका छैनन्। तर आफ्नो बाँकी खेलाडी पनि निकै बलिया रहेको बताउँछन् बालगोपाल। उनी भन्छन्, ‘खेलाडी कम भए पनि बेञ्च बलियो छ। अनि खेलाडी आत्मविश्वासी पनि छन्। हामी अझै लक्ष्यलाई निरन्तरता दिन हो। उपाधि चाहिँ अर्को खेलले निर्धारण गर्छ।’
पहिलो हाफका इन्ज्युरी समयको अन्तिम मिनेटमा अन्जन विष्टले पेनाल्टी मिस गरे। तर पेनाल्टीकै रिबाउन्ड बललाई पुन प्रहार गर्दै गोल गरेर चर्च बोइजलाई अग्रता दिलाए। रन्जित पान्द्रेमाथि फउल गरपछि पाएको पेनाल्टीबाट अन्जनले गोल गरेका हुन्। यही गोलको कारण पहिलो हाफमा चर्च बोइज १–० ले अघि रह्यो। दोस्रो हाफमा दुई गोल थपेपछि जावलाखेल ३–० पराजित भयो।

जावलाखेल प्रशिक्षक सुनिल श्रेष्ठ आजको हारसँगै उपाधि दावेदारी सकिएको बताउँछन्। भन्छन्, ‘आज जितेको भए हाम्रो उपाधिमा नै आशा थियो। तर अब टाइटल होप सकियो। हामीले सेट बनाएको टिममा विदेशीलाई खेलाउन पाइएन र सेट भएको टिम नै बिग्रियो। अगाडिका खेलमा राम्रो खेल्दाखेल्दै आज हारेपछि कसैलाई ब्लेम गर्नु त भएन। तर आज हाम्रो खेल नै डाउन भयो। कारण त त्यही नै हो। होल लिगमा नै जावलाखेल १४ कि १५ चरणसम्म शीर्ष स्थानमा रह्यो। तर उपाधि जित्ने बेलामा हामीले हार्न पुग्यौँ।’
दोस्रो लेगको खेलमा संकटासँग बराबरी भएपछि आफ्नो टिमको प्रदर्शन खस्किएको बताउँछन् प्रशिक्षक श्रेष्ठ। भन्छन्, ‘संकटाविरुद्धको खेलपछि डाउन भएको हो। एन्फामा गएर खेल्दा खेलाडीलाई पनि चोट लाग्यो। लगातार खेलेर समस्या भयो। नेपालले पहिलो पटक डबल राउन्ड रोबिन लिग खेल्दा लामो भएर खेलाडीलाई पनि गाह्रो भयो।’
आज जित निकालेपछि चर्च बोइजले अंकतालिकाको शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ। लिग सकिन दुई खेल मात्र बाँकी रहँदा उसले बनाएको पाँच अंकको अग्रता निकै महत्वपूर्ण छ। किनभने चर्च बोइज अब उपाधिबाट केही अंक मात्र टाढा छ। उसलाई अब एकमात्र डर मछिन्द्रको छ। किनभने आजको हारसँगै सात अंकले पछि परेको जावलाखेल उपाधि होडमै छैन। यसअर्थमा चर्च बोइजले आज कमसे कम पनि दोस्रो स्थान सुरक्षित गरेको हो।
आजको खेलको २१ औं मिनेटमा चर्च बोइजका कमल श्रेष्ठको फ्रि किकमा अनन्त तामाङको हेडरलाई छिरिन लामाले गोल लाइन नजिकैबाट बचाउँदा चर्च बोइज अग्रता लिनबाट चुकेको थियो। त्यस्तै ३२ औं मिनेथमा अन्जन विष्टको पोसमा रन्जित सिंह पान्द्रले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पहिलो बार च्याप्दै बाहिरिएको हो।
४४ औं मिनेटमा अन्जनको पासमा रन्जितको प्रहार जावलाखेलका गोलरक्षक इश्वर गुरुनको दोस्रो प्रयासमा नियन्त्रणमा लिएका थिए। यता जावलाखेलका हिसुब थपलिया, विनोद केसीले गरेका प्रहारहरु पोस्टबाट बाहिर गएका थिए।
दोस्रो हाफका ६० औं मिनेटमा अन्जनले अर्को सुन्दर प्रहार गरे। तर गोलकिपर इश्वरले त्यसलाई पोल नजिकैबाट सहजै बचाए। ६२ औं मिनेटमा सुनिल खड्काले पेनाल्टी बक्स भित्रबाट बल प्रहार गर्न सकेनन्। त्यहिँबाट बल नियन्त्रणमा लिएर चर्च बोइजले अट्याकको प्रयास त गर्यो। दोस्रो गोलका लागि भने चर्च बोइजले ८७ औं मिनेट नै पर्खिनु पर्यो। कमल श्रेष्ठले दायाँ कुना नजिकैबाट गरेको क्रसलाई विंगर आशिष चौधरीले हेडरमार्फत् पोस्टमा छिराए। गोलकिपरले इश्वरले बचाउको प्रयास गर्नै भ्याएनन्। यससँगै चर्च बोइजले दुई गोलको अग्रता बनायो।
यता खेलमा ८ मिनेट बाँकी रहेको अवस्थामा हिसुबले गरेको प्रहार भने अनन्त तामाङले क्लियर गरे। गोलकिपर रेम्बो कुमार चौधरीलाई बीट गरिसकेको अवस्थामा अन्तले बललाई बचाएका हुन्। खेलमा जावलाखेलले गरेको त्यो नै अन्तिम प्रयास थियो। खेलको अघिकांश समय चर्च बोइजले दबाब राख्यो।

विदेशी खेलाडीको श्रम स्विकृति नहुनु आज जावलाखेलको कमजोर पक्ष रह्यो। ‘बेञ्चमा कम खेलाडी हुने नै भए। साथै पाँच जना विदेशी खेलाडी पनि बाहिर नै रहे। श्रम स्विकृति नभएको जनाकारी अगाडि नै पाएको भए त्यही अनुसार तयारी गर्ने थियो। वर्क पर्मिट छैन भनेर हिजो मात्र थाहा भयो। अनि गाह्रो भयो,’ प्रशिक्षक श्रेष्ठले खेलपछि भने, ‘हिजो मात्र त हामीले थाहा पाएको हो। तर पनि क्लबलाई गुनासो छैन्।’
उनले अगाडि भने, ‘खेलाडीसँग सम्झौता गर्दा वर्क परमिट(श्रम स्विकृति)को काम व्यवस्थापनले मिलाउनु पर्ने हुन्थ्यो। खैर अहिले मलाई धेरै दबाब छैन। किनभने फुटबलमा लागेको धेरै भयो। यो एक खेल हाे र खेलमा हारजित जे पनि हुन्छ भनेर स्विकार्नै पर्छ। उपाधि जितिएन भनेर त्यस्तो फरक भावना छैन। तर तीन गोलले हार्ला भन्ने चाहिँ लागेको थिएन। तर हारियो। आउँदा यही केटाहरुबाट जित निकाल्छौं भन्ने लाग्छ। मोफसलमा पनि यि खेलाडी खेलाएर जित निकालेको हो।’
जावलाखेलविरुद्धको खेलको इन्ज्युरी समयमा पनि चर्च बोइजले गोलका अवसर खोजिरहेको थियो। त्यसैमध्येको एक अवसरमा फेरी आषिस सफल रहे। उनले पोस्ट अघिबाट कन्फिडेन्ट प्रहार गर्दै अग्रतालाई ३–० मा पुर्याए। अन्ततः चर्च बोइजले सोही अन्तरको जित पनि दर्ता गर्यो। यो जितले उसलाई तेस्रो स्थानको जावलाखेलभन्दा सात अंकले अघि पुर्याएको छ। त्यस्तै, उपाधि सम्भावना बढेर गएको छ।
‘उपाधि चाहिँ अब अर्को खेलको रिजल्टले देखाउँछ। हामीले फरवार्डमा धेरै काम गरेको छौं। वन वाई वान, कट ब्याक जस्तो सबै अभ्यास गराएको छु। डिफेन्स त पहिलेबाटै बलियो नै छ,’ चर्च बोइजका प्रशिक्षक महर्जनले भने, ‘आउँदो खेलमा हामी यो भन्दा पनि राम्रो खेल्न कोसिस गर्छौं। हाम्रो टिमको पनि विदेशी खेलाडीले वर्क पर्मिट छैन। अब क्लबले के गर्छ, पर्मिट पायो भने खेलाउने हो नभए नखेलाउने हो।’



