काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूको नाममा खोलिएका प्रतिष्ठानहरू ठगी खाने भाँडो भएको आरोप लगाएका छन्। मदन-आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका ओलीले व्यक्तिगत नाममा खोलिएका प्रतिष्ठानहरूलाई ठगी खाने भाँडो बनाएको आरोप लगाएका हुन्।
‘भक्तपुर हो कि कता हो कम्युनिस्ट पाठशाला बनाइएको छ। त्यो व्यक्तिको हो कि, परिवारको हो कि, श्रीमान-श्रीमतीको हो कि, आन्दोलनका लागि हो कि? ठगी खाने भाँडोको रूपमा खोलेका छन्। त्यस्तो हुनु हुँदैन। त्यस्ता प्रतिष्ठान-संस्थाहरू पार्टीअन्तर्गत खोलिनुपर्छ,’ उनले भने।
उनले मदन भण्डारी फाउन्डेसन पनि पार्टीको नभई व्यक्तिगत रूपमा खोलिएको बताए। ‘मदन भण्डारी फाउन्डेसन पनि अर्कै ढंगले बनेको हो। उहाँहरूले बनाउनुभएको हो। हेरौं कहाँ पुग्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले त्यस्ता संस्थाहरूमा पार्टीकै नेताहरूले नेतृत्व गर्नुपर्ने बताए। उनले पार्टी मातहतमा रहे क्षमतावान् व्यक्तिहरूले मौका पाउने पनि बताए। उनले प्रदीप ज्ञवालीलाई आफूले गुरू भन्ने गरेको बताउँदै मदन-आश्रित स्मृति प्रतिष्ठानमा सही नेतृत्व आएको बताए। ‘प्रदीप यस्तो मान्छे हुनुहुन्छ, मैले पनि उहाँलाई गुरू भन्छु। उहाँले सही नेतृत्व गर्नुहुन्छ भन्नेमा म ढुक्क छु,’ उनले भने।
उनले मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा पर्दा धनगढी रहेको बताए त्यसपछि बसमा फर्किएको उनले बताए। ‘दुर्घटना भएको दिन राति ३ बजे खबर आयो। हामीले सानोतिनो दुर्घटना भयो होला भन्ने ठान्यौं। हामी सुदूरपश्चिम भ्रमणमा निस्किएका थियौं। खबर आउँदा धनगढी थियौं। त्यसपछि हामी बसमा काठमाडौं फर्कियौं। ६ गते शव प्राप्त भयो, ८ गते दाहसंस्कार भयो। ९ गतेको केन्द्रीय कमिटीको बैठकले मदन-आश्रित प्रतिष्ठानको गठन गर्यो,’ उनले भने।


