काठमाडौंः सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्तालाई शेयर बिक्री गर्न लागिएको हो।
कम्पनीलाई ७२ करोड ६० लाख रुपैयाँ बराबरको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँ बराबरका १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त छ। तीमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो।
अब सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन हुने। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आवेदन दिने अवधि भदौ २५ गतेदेखि भदौ २९ गतेसम्म तोकिएको छ। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म अवधि बढाइनेछ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


