काठमाडौँ। शुक्रबारदेखि झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट गरेको थियो। अब दोस्रो चरणमा सामूहिक लगानी कोषहरूका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्याइ सर्वसाधारण लगानीकर्ताहरुका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता प्रतिकित्ता सय रुपैयाँ दरको ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओका लागि आगामी भदौ २४ गतेसम्म न्युनतम १० देखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र प्रर्याप्त आवेदन नपरेकोमा असोज ३ गतेसम्म म्याद थप हुनेछ। झापा इनर्जीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी माइनस प्रदान गरेको छ, जसको अर्थ कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको हुन्छ।


