काठमाडौँ: इन्टरनेटसँगै हुर्किएको पुस्ता जेनजी (सन् १९९७ देखि २०१२) ले सरकारले फेसबुक, ट्विटर, युट्युबसहित २६ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ। विशेषगरी सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धपछि भ्रष्टाचार र प्रतिबन्धविरुद्ध माइतीघरदेखि नयाँबानेश्वरसम्म जेनजीले प्रदर्शन गर्न लागेको हो।
बिहान ९ बजेदेखि जेनजी युवाहरू माइतीघरमा जम्मा हुँदैछन्। कसैले सम्बोधन नगरी बानेश्वरसम्मको मार्चपास हुनेछ। कार्यक्रममा गीत, कवितालगायत सांस्कृतिक कार्यक्रम पनि हुनेछ। ११ बजेदेखि प्रदर्शन हुनेछ। कार्यक्रममा २८ वर्षमुनिका युवाहरू मात्रै सहभागी हुन पाउनेछन्। संयुक्त रूपमा युवाहरूले सामाजिक सञ्जालमार्फत् आह्वान गरी गर्न लागिएको कार्यक्रममा परिचय पत्रसहित कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनिएको छ।
जेनजी युवापुस्ताका तर्फबाट आइतबार सूचना जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने भनिएको छ। उक्त सूचनामा सवल गौतम र पुरुषोत्तम यादवको हस्ताक्षर छ। जिल्ला प्रशासन कार्यालयबाट आन्दोलनका लागि लिइने अनुमति प्रक्रियामा पनि गौतम र यादवको हस्ताक्षर छ। उनीहरुले आन्दोलनबारे सूचना पनि जारी गरेका छन्।
जेनजीको सूचनामा भनिएको छ, ‘जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र अडिग भएर उभिएका छौँ। हाम्रो मिसन स्पष्ट छः भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टाचारलाई निस्प्रभावि पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस्।’
कसरी बन्यो आन्दोलनको रणनीति?
यो आन्दोलनको सुरुवात सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै भएकाे हाे। अभियानमा संलग्न एक युवाका अनुसार सुरुमा रेडिक्टबाट यसको तयारी थालिएको थियो। त्यसपछि भाइबर र जुम मिटिङबाट सरकारविरोधी अभियान थाल्ने तयारी भयो। त्यसको पहिलो अभियान टिकटकमा नेपो किड ट्रेन्ड सुरु गरियो। जसमा नेताका छोराछोरीहरूको पर्दाफास गर्न थालियो।
पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहालका छोरीनातिनी, डा बाबुराम भट्टराईकी छोरी र शेरबहादुर देउवा/आरजु देउवाका छोराबुहारी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका छोरी, एमाले नेताहरू महेश बस्नेत र विरोध खतिवडालगायतका छोरीलगायत भीआईपीका छोराछोरीले बाँचिरहेको बिलासी जीवनशैली, महँगा ब्रान्डका कपडा, विदेश यात्रालगायतको भिडियो टिकटकमा राख्न थालियो। ‘नो मोर करप्सन, वेक अप च्यालेन्ज’ ह्याजट्यागसहित नेताका छोराछोरी र सर्वसाधारणका छोराछोरीबिचको गहिरो वर्गीय खाडलविरुद्ध उक्त अभियान चालिएको थियो।
जुन ट्रेन्ड निकै चलेपछि अन्तत: स्वस्फूर्त रूपमा सरकारविरोधी प्रदर्शनको तयारी सुरु गरिएको अभियानमा सुरुदेखि संलग्न प्रदीप ज्ञवालीले भने। ‘यो अभियान कसैले सुरु गरेको भन्दा पनि हामीहरूले स्वस्फूर्तरूपमा थालेका हौँ। त्यसैले सम्पूर्ण जेनजी युवाहरू यसका आयोजक हौँ,’ उनले भने।
नेपालमा सुरु भएको यो अभियान नयाँ भने होइन। २०२४ मा केन्यामा भएको वित्तविरोधी आन्दोलन भ्रष्टाचारविरोधी अभियानको स्वरुपमा काठमाडौँ आइपुगेको हो। केन्यामा भएको उक्त आन्दोलन पनि सामाजिक सञ्जालबाट नेताहरूको विरोध सुरु गरी सडक आन्दोलनका रूपमा रूपान्तरण भएको थियो।
केन्यामा उक्त अभियान एक हिसाबले प्रभावकारी भएपछि विश्वव्यापी रूपमा सामाजिक, राजनीतिक र आर्थिक मुद्दाहरूमा केन्द्रित भयो। प्रविधि र सामाजिक सञ्जालमा पारङ्गत जेनजी पुस्ताले असमानता, भ्रष्टाचार, र अभिव्यक्ति स्वतन्त्रताको हननविरुद्ध संसारका विभिन्न देशमा सडकमा उत्रेर प्रतिरोधको स्वर उचालेका छन्।
२०२४-२५ मा सर्बिया, जोर्जिया, तुर्की, जर्मनी, नाइजेरियाजस्ता देशहरूमा जेनजी नेतृत्वमा व्यापक आन्दोलनहरू भए, जहाँ लोकतन्त्र, पारदर्शिता र जलवायु न्यायको माग उठाइयो। फिलिपिन्स र इन्डोनोसियमा पनि भ्रष्टाचारविरोधी जेनजी आन्दोलनहरू भए। यी सबै अभियानको समानता भनेको जेनजीहरूले आफ्ना नेताहरुको विलासितालाई सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल प्ल्याटफर्ममा पनि यसबारे प्रशस्त भिडियो देख्न पाइन्छ।
विश्वव्यापी रूपमा सक्रिय हुँदै गएको जेनजी अभियान नेपालमा पनि थालनी भएपछि सेलिब्रेटी र नयाँ पुस्ताका नेताहरूले यसको समर्थन गरेका छन्। सम्पादक एवं लेखक सुधीर शर्माले यस अभियानले २०८४ सम्म धेरैलाई बगाउन सक्ने टिप्पणी गरेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि सामाजिक सञ्जालमा लेख्दै यस अभियानमा समर्थन जनाएका छन्। गायिका रचना रिमाल, गायक शिव परियार र प्रकाश सपूत, कलाकारहरू जितु नेपाल, केकी अधिकारी, पल शाह, निर्देशक निश्चल बस्नेतलगायतले सामाजिक सञ्जालमा जेनजीको यो सक्रियता सराहनीय भन्दै समर्थन गरेका छन्।
सार्वजनिक मुद्दामा यसअघि अभिव्यक्ति नदिएका अभिनेता अनमोल केसीले पनि पहिलोपटक एकता, शान्ति र दृढ संकल्पका साथ यस अभियानमा उभिनुपर्ने भन्दै साथ दिएका छन्।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्धसहित भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारी लगायत मुद्दा उठान गर्दै जेनजीले काठमाडौँका सडकमा प्रदर्शन गर्न लागेका हुन्। जसको समर्थनमा देशका अन्य ठूला शहरमा पनि युवाहरूले उपस्थित भइ प्रदर्शन गर्ने तयारी गरेका छन्।


