काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र कायम भई संविधान र संसदीय प्रणाली बचेको बताएका छन्। शुक्रबार पूर्वन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गरेका उनले शनिबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
देशको अत्यन्तै असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन पर्यत्नपश्चात् शान्तिपूर्ण निकास निस्किएको उनको भनाइ छ।
‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएको उनले बताएका छन्।



