काठमाडौं। जेन्जी समूहको हिंसात्मक आन्दोलनपछि खुलेको पहिलो दिनमा नै सेयर बजारमा भारी गिरावट आएको छ। सेयर बजारमा तीन पटक नकरात्मक सर्किट लागेर कारोबार नै बन्द हुन पुगेको छ।
पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको। नेप्सेले दोस्रो पटकका लागि ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो। तर घट्ने क्रम नरोकिएपछि बिहीबारको सेयर कारबोर बन्द भयो।
साताको अन्तिम दिन बिहीबार नेप्से सूचक १६०.३३ अंक घटेर २५११.९१ अंकमा झरेको छ। कारोबार खुलेको २ मिनेटमै ४ प्रतिशत बजार घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि ५ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि कारोबार बन्द हुन पुगेको थियो। तेस्रो पटक ६ प्रतिशत घटेर बजार बन्द भयो। बिहीबार २१७ कम्पनीको सेयर मूल्य घटेको छ भने नौ कम्पनीको मात्र बढेको छ।
बजारमा भारी गिरावट आउँदा हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। आठ कम्पनीहरुमा सर्किट लेभलमा सेयर मूल्य घटेको छ।
यसरी सर्किट मूल्यमा सेयर घट्नेमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड,नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सिन्धु विकास बैंक, सोल्टी होटल लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशत घटेको नेप्सेले जनाएको छ। यस्तै क्रेस्ट माइक्रो फाइनान्स लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्किट लेभलमा घटेको छ।
बिहीबार ७२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा बढी चार करोड आठ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
जेन्जी आन्दोलनले गर्दा लगानीकर्ताले विश्वास गुमाउँदा बजारमा भारी गिरावट आएको हो। भौतिक क्षतिले गर्दा बिमा कम्पनीलाई ठूलो चुनौति आएको छ । ठूलो रकम दाबी भुत्तानीमा खर्च हुने अवस्था आएपछि लाभांश दिन नसक्ने अवस्था आउने लगानीकर्ताको भनाई छ।



