काठमाडौँ: अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हाल जंगल क्षेत्र हुँदै जाने साँगा–बनेपा सडक खण्डमा धमाधम कालोपत्रे (पिच) गर्ने कार्य भइरहेको छ।
तीन वर्षमा सक्नेगरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भई २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो। पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख र दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो।
साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सूर्यविनायक-बनेपा सडक विस्तार थालिएको थियो।
































