काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सम्बोधन गर्नेगरी
सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल हार्दिक स्वागत गरेको छ। यो निर्णयले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न प्रतिबद्ध रहेको नाडाले जनाएको छ।
नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले केही समयअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटघाट गरी आन्दोलनका कारण गम्भीर रूपमा प्रभावित अटोमोबाइल उद्योग तथा व्यवसायलाई पुनर्जीवित गर्न विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको थियो।
सरकारले बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा भवन, सवारी साधन, मालसामान, यन्त्र–उपकरण आदिमा भएको क्षतिको ५० प्रतिशत रकम अग्रिम रूपमा छिट्टै भुक्तानी गर्ने, पुनर्बीमा प्रक्रियामा ढिलाइ भएमा बीमा कम्पनीहरूले ५० प्रतिशतसम्म अग्रिम भुक्तानी उपलब्ध गराउने, आन्दोलनमा क्षति भएका व्यावसायिक सवारी वा ढुवानी साधन नयाँ खरिद गर्दा बैंक कर्जामा लोन टू भ्यालु न्यूनतम ८० प्रतिशत हुने र आगजनी वा तोडफोडबाट क्षति भएका मालसामान पुनःस्थापनाका लागि आयात गर्दा भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।
यसैगरी राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकमलाई कर कटौतीमा गणना गर्ने, बीमा नभएका मौज्दातमा मूल्याङ्कनका आधारमा लागत खर्च कट्टी तथा करकट्टी गर्न सक्ने, आन्दोलन प्रभावित ऋणी उद्योग/व्यवसायका लागि साँवा तथा ब्याज भुक्तानी अवधि थप्ने, प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने, रोजगार सुरक्षित गर्न एबथचयिि एचयतभअतष्यल क्अजझभ ल्याई २ प्रतिशत अनुदान सहित सहुलियत कर्जा दिने र दशैंबाहेक अन्य विदामा पनि व्यापार सहजीकरणका लागि सरकारी कार्यालय, बैंक तथा राजस्व संकलन गर्ने निकायहरू खुला रहने व्यवस्था गरेको छ।
सरकारले ल्याएको यस राहत प्याकेजले उद्योगी व्यवसायीले आत्मबल पाएको नाडाको भनाइ छ। यी सबै प्रावधानहरूले प्रभावित अटोमोबाइल उद्योगी तथा व्यवसायीहरूलाई प्रत्यक्ष राहत दिलाउने अपेक्षा नाडाको छ।


