काठमाडौं। सरकारले गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण थाल्न आर्थिक सहयोगका लागि आब्हान गरेको छ।
अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्र्दै पुनर्निमाणमा सहयोग गर्न आब्हान गरेको हो। मन्त्रालयले भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको जनाएको छ।
कोषमा आर्थिक योगदान गर्न सरकारले राष्ट्रिय वाणिज्य बैक खाता खोलेको छ। खातामा रकम जम्मा गर्न सरकारले अनुरोधसमेत गरेको छ।
आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापना सम्बन्धी कार्यलाई तत्काल अघि बढाउन मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश, २०८२ जारी गरेको हो।
उक्त गठन आदेशले संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई अमूल्य योगदान गर्न अनुरोध गरेको छ।
‘राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन सरकार सवैमा हार्दिक आह्वान गर्दछ’ अर्थले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
आर्थिक सहायता रकम योगदानकर्ताको चालू आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन र खर्च कट्टी गर्न पाइने अर्थले जनाएको छ ।
सरकारले क्षतिको विवरण संकलन गरेको छैन्। नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रमा ८० अर्ब रुपैयाँबराबर क्षति भएको अनुमान गरेको छ।


