काठमाडौं। व्यवसायिक घरना सौरभ ग्रुपले सञ्चालन गरिरहेको जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको धागोको कारोबार बढ्दै गएको छ। गत वर्ष जगदम्बाको धागो व्यापार तीन प्रतिशत बढेर तीन अर्ब ९४ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलतामा गत वर्ष उद्योगको धागो व्यापार ११ करोड ४० लाख रुपैयाँ बढेको रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
सन् २०२४ मा जगदम्बाले तीन अर्ब ८३ करोड ४० लाख, २०२३ मा तीन अर्ब ७९ करोड ६० लाख र २०२२ मा दुई अर्ब ३२ करोड ८० लाख रुपैयाँबराबरको धागो व्यापार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
यसबीचमा उद्योगको मार्जिन बढेर १५.१९ प्रतिशत पुगेको छ। सन् २०२४ मा मार्जिन १२.२१ प्रतिशत थियो। जगदम्बाको लाभांश वितरण क्षमता दोब्बर बढेर १५ प्रतिशत पुगेको छ। २०२४ मा लाभांश वितरण क्षमता ७ प्रतिशत मात्र थियो। यसले उद्योगको आम्दानी र नगद प्रवाहको स्थितिमा सुधार आएको देखाउँछ।
पछिल्लो चार वर्षको वित्तीय विवरण हेर्दा जगदम्बा स्पिनिङको धागो व्यापार बढ्दै गएको छ। जगदम्बाले आर्थिक वर्ष २०२५ मा कुशल सञ्चालन प्रदर्शन गरेको छ। उद्योगको क्षमता उपयोग आर्थिक वर्ष २०२४ मा ९७ प्रतिशत रहेकोमा यो वर्ष थोरै सुधार भएर ९८ प्रतिशत पुगेको छ।
उत्पादन क्षमता बढेका कारण जगदम्बाको आम्दानी वृद्धि भएको हो। कूल व्यापारको ९५ प्रतिशत धागो भारत निर्यातले ओगटेको छ। सन् २०२४ देखि टर्कीमा निर्यात बिक्री बन्द भएको छ भने घरेलु बिक्रीको हिस्सा न्यून रहेको जगदम्बाले जनाएको छ। जगदम्बाको मुख्य बजार भारत रहेको छ।
भारतबाट प्राप्त हुने आयातित पलिएस्टर फाइबरमा भारी निर्भरता राख्ने भएकाले कच्चा पदार्थको मूल्य जोखिममा रहन्छ। किनकि यो मुख्यतया जहाँ मूल्यहरू बजार–सम्बन्धित छन् र आवधिक संशोधनको अधिनमा छन्। छिमेकी भारतले साउथ एसिया फ्रि ट्रेड एरिया (साफ्टा) अन्र्तगत ६ प्रतिशत मात्र भन्सारदर लगाएको छ।
धागो बनाउन चाहिने आवश्यक कच्चा सिन्थेन्टिक यार्न र प्राइमरी पोलिस्टर भारतबाट आयात हुने गरेको छ । कूल आम्दानीको ८० प्रतिशत हिस्सा कच्चा वस्तु आयातमा खर्च हुने गरेको जगदम्बाले जनाएको छ।
उद्योगको क्षमता दोब्बर बढेर वार्षिक १७ हजार ८ सय ८५ टन पुगेको छ । २०२० मा वार्षिक उत्पादन क्षमता ९ हजार १२५ टन थियो।
जगदम्बाले तीन अर्ब ७२ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। उद्योगको धागो उत्पादन क्षमता वार्षिक १७ हजार ८८५ टन रहेको छ । जगदम्बा पलिएस्टर स्पन यार्न र पलिएस्टर भिस्कोस यार्न उत्पादनमा केन्द्रित रहेको छ।
जगदम्बा स्पिनिङको बुकबिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। उद्योगको चुक्तापुँजीको १० प्रतिशतसम्म आइपिओ निष्कासन गर्ने योजना छ । सौरभ ग्रुपले सर्वोत्तम सिमेन्टको आईपीओ बुकबिल्डिङ विधिबाट निष्कासन गरेको थियो। साधाणसभाबाट सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
जगदम्बाले पलिस्टर धागो, पोलिस्टर भिस्कोज मिश्रित धागो र एक्रिलिक जस्ता फाइबरमा आधारित धागो उत्पादन गर्दछ । सन् २००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्स २०२१ मा आएर आईपीओ निष्कासन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।
उद्योगका संस्थापकहरुसँग उत्पादनमा २५ वर्षभन्दा बढी अनुभव छ । सौरभ समूहको सिमेन्ट र स्टिल जस्ता धेरै ठूला उद्योगहरूमा लगानी छ। समूहले लगानी विविधिकरण गरी चिया, धागो र सिंथेटिक कपडाको उत्पादन गरिरहेको छ। उद्योगमा दुर्गाप्रसाद न्यौपानेको ३०, विष्णु न्यौपानेको २१ र वैभव न्यौपानेको १६ प्रतिशत हिस्सा छ।


