काठमाडौँ: जेनजी युवाहरूको नाममा १० प्रतिशत नि:शुल्क शेयर माग्दै बन्द गराइएको सिन्धुपाल्चोकस्थित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना २८ दिनदेखि बन्द हुँदा २७ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको छ।
जेन-जी युवाहरुले १० प्रतिशत निशुल्क शेयर नदिएसम्म भोटेकोशीबाट विद्युत उत्पादन गर्न नदिने धम्कीसहितको पत्र कम्पनीलाई पठाएका थिए । केही व्यक्तिहरूले आफूलाई जेनजी दाबी गर्दै भोटेकोशी गाउँपालिकाका स्थानीयखबासिन्दालाई १० प्रतिशत सेयर सित्तैमा दिनुपर्ने माग गर्दै उनीहरूले एक महिनादेखि आयोजना सञ्चालनमा अवरोध गर्दै आएका छन्। पूर्णक्षमतामा सञ्चालित भई दैनिक ९८ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्दै आएको उक्त आयोजना बन्द भएपछि २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउनु परेको आयोजना प्रवर्द्धक भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताएका छन्।
नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको टोलीले बुधबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर उक्त आयोजना यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरेका छन्।
भेटपछि गृहमन्त्री अर्यालले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलीफोन गरी आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। उनले जायज माग राख्न युवाहरूले पाउने भए पनि उत्पादन नै रोक्नु अव्यवस्था भएको बताउँदै सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन्।
आवश्यक परे गृह मन्त्रालयले सहयोग गर्ने पनि उनले आश्वासन दिएका छन्।
२३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनले सरकार परिवर्तन गरेपछि सिन्धुपाल्चोकको ‘भोटेकोसी गाउँपालिका जेनजी ग्रुप’ का नाममा २५ गते युवाहरूले माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको हेडवर्क्समा प्रवेश गरी स्पिलवे गेट खोल्न लगाइ उत्पादन पूर्णरूपमा अवरुद्ध गराएका थिए।


