काठमाडौँ: सर्वोच्च अदालतले बुधबारदेखि नयाँ रिट दर्तासहित न्यायिक सेवा सुरु गरेको छ। गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा दोस्रो दिन अराजक समूहले लगाएको आगोका कारण प्रभावित न्यायिक सेवा प्रभावित भएको थियो।
भदौ २९ गतेदेखि पाल टाँगेर बन्दी प्रत्यक्षीकरणका रिटमाथि सुनुवाई सुरु गरे पनि अन्य सेवा प्रभावित भएका थिए। गत असोज २६ गतेको अदालतको फुलकोर्ट बैठकले असोज २८ (आज)देखि नयाँ मुद्दा दर्ता सुरु गर्ने निर्णय गरेको थियो। सोअनुसार सर्वोच्चले रिट दर्ता गर्न सुरु गरेपछि पहिलो दिन नै संसद् विघटन र अन्तरिम सरकार गठनविरुद्ध दिउँसो १२:३० सम्म ७ वटा रिट पुगेका छन्।
७ वटा रिट दर्ताका लागि सर्वोच्च पुगे पनि ती दर्ताको प्रक्रियामा रहेको अदालतका सूचना अधिकारी निराजन पाण्डले बताए। उनकाअनुसार सर्वोच्च प्रशासनले ती रिटहरू अध्ययन गरिरहेको छ।
रिटको प्रारम्भिक अध्ययन सकिएपछि दर्ता र पेसी तोक्ने प्रक्रिया सुरु हुने सूचना अधिकारी पाण्डेले बताएका छन्।
जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। उनको सिफारिसमा राष्ट्रपति पौडेलले संसद् विघटन गरेका थिए।
