काठमाडौं। व्यवसायिक घरना चौधरी ग्रुप र आइजे ग्रुपले निर्माण गरिरहेको पाँचतारे समिट होटलको लागत ६८.२७ प्रतिशत बढेको छ। होटलको लागत बढेर अहिले ११ अर्ब ६८ करोड ५० लाख रुपैयाँ पुगेको छ।
यसअघि पाँचतारे होटलसहित अत्याधुनिक लक्जरी अपार्टमेन्टसहितको दुई हाइरेन्ज अपार्टमेन्ट बनाउन ६ अर्ब ९४ करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ। होटल तथा दुई अपार्टमेन्टको लागत चार अर्ब ७४ करोड रुपैयाँ बढेको होटलले रेटिङका लागि सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
निर्माण क्षेत्रफल २८ प्रतिशत बढेको र पहिलेको जमिनको भासिएको समस्यालाई ध्यानमा राख्दै केही बढेको जग निर्माण कार्यका कारणले लागत वृद्धि भएको समिट होटलले जनाएको छ।लागत बढेकाले होटल तथा अपार्टमेन्ट परियोजनाको नाफामा दबाब दिन सक्छ।
पाँचतारे होटलसहितको अपार्टमेन्ट परियोजना बनाउन २८ प्रतिशत स्वपुँजी(इक्विटी) र ७२ प्रतिशत ऋण हुने गरी लगानी संरचना बनाइएको छ। हालसम्म ५५ प्रतिशत अपार्टमेन्टको बुकिङ भएको छ। अझै ४५ प्रतिशत बाँकी रहेको छ।
विकासको प्रारम्भिक चरणलाई ध्यानमा राख्दै परियोजना थप लागत र समय बढेको जोखिममा पनि रहन्छ।
अपार्टमेन्ट र होटल परियोजना कुपन्डोल हाइटमा निर्माण भइरहेको छ, जुन काठमाडौं उपत्यकाको केन्द्रमा अवस्थित छ।
परियोजनाको गत असारसम्म २३ प्रतिशत र अपार्टमेन्ट एक्लैको ३९ प्रतिशत वित्तीय प्रगति भएको छ। अपार्टमेन्टको निर्माण जारी रहे पनि होटल क्षेत्रको डिजाइनको काम भइरहेको समिटले जनाएको छ।
हालको सेयर होल्डिङ संरचनामा तीन शेयरधारकहरु रहेका छन्। जसमा आर एण्ड आर हेरिटेज प्राइभेट लिमिटेड(चौधरी ग्रुप) र आईजे ग्रुपबीचको संयुक्त उद्यमको ५१, जेन इन्फ्रा एण्ड बिल्डर्स प्राइभेट लिमिटेड, इम्प्लीमेन्टिङ एक्सपट्र्स ग्रुपअन्तर्गतको ३४ र बाँकी १५ प्रतिशत शर्मा एन्ड कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माको छ। शर्मा एण्ड कम्पनी समिटका सिभिल ठेकेदार हो।
कम्पनीको चुक्तापुँजी ४१ करोड ६० लाख रुपैयाँ रहेको छ।
पुरानो चारतारे होटल समिट भत्काएर अत्याधुनिक पाँचतारे होटलसहित भव्य लक्जरी अपार्टमेन्ट निर्माण सरु भएको हो।
राजधानीको मध्यभागमा रहेकाले अपार्टमेन्ट लक्जरियस र प्रिमियम हुने र उच्च वर्ग लक्ष्य गरी अपार्टमेन्ट बनाउन लागिएको हो।
यसरी, प्रवद्र्धकहरूको थप कोषको खाडललाई समयमै पूरा गर्ने क्षमताको परीक्षण गर्न बाँकी छ।
काठमाडौँ उपत्यकाको आतिथ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, स्थापित र धेरै नयाँ सम्पत्तिहरू सहितको कारणले बढेको छ। यसले राजस्वरमूल्य निर्धारणलाई असर गर्न सक्छ।
प्रस्तावित द समिट होटल एन्ड रेसिडेन्सेसमा १२० कोठासहितको पाँचतारे होटल बन्ने छ। होटल परिसरभित्रै १५० युनिट दुई अग्ला अपार्टमेन्ट टावर बन्ने छ। ललितपुरको सानेपामा रहेको समिट होटल १८ रोपनीमा फैलिएको छ।
२०७१ चैतमा चौधरी र आइजे ग्रुपले होटल समिटको स्वामित्व खरिद गरेका हुन्। ७३ कोठामा सञ्चालित चारतारे समिट सन् १९७९ मा स्थापना भएको थियो।
सिजी र आइजेको लगानीमा ललितपुर झम्सिखेलमा चारतारे होटल भिभान्ता सञ्चालनमा छ। सिजीको एकल लगानी रहेको चितवनको मेघौली सेराई रिसोर्ट ताज सफारीले व्यवस्थापन गरिरहेको छ।
आइजे ग्रुपसँग पाँचतारे सोल्टी, सोल्टी वेस्टेन्ड र चारतारे भिभान्तालगायत होटल सञ्चालनको अनुभव छ। यस्तै ग्रुपको युनिलिभर नेपाल लिमिटेडमा लगानी रहेको छ।


