कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अष्ट्रेलियन बेस क्याम्प छोटो तर रमणीय हाइकिङको रुपमा परिचित छ। समुद्री सतहबाट २ हजार ५० मिटर उचाइमा रहेको बेस क्याम्प धम्पूसबाट करिब ४५ मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ। यस्तै, पोखरा–बाग्लुङ सडकमा पर्ने कास्कीको काँडेबाट पैदल यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ। काँडेबाट भने करिब २ घन्टाको पैदल यात्रापछि क्याम्प पुग्न सकिन्छ।
अन्नपूर्ण बेसक्याम्प र मर्दी हिमाल जाने बाटोमा पर्ने भएकाले सो रुटमा ट्रेकिङ गर्ने धेरै पर्यटक एक रात अष्ट्रेलियन बेस क्याम्पमा बिताउने गर्छन्। क्याम्प पुग्दा आँखै अगाडि माछापुच्छ्रे र अन्नपूर्णसहितका हिमालले धेरैलाई मोहित बनाउँछ।











