काठमाडौं। राजधानी काठमाडौं जोड्न लाइफलाइन बीपी राजमार्गमा स्थानीय प्रशासनले रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ।
सिन्धुली र काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै रातीको समयमा गाडी नचालउन निर्देशन जारी गरेका हुन्।बिहीबारदेखि शुक्रबारसम्म दुई दिन भारी वर्षा हुने भन्दै रोक लगाइएको काभ्रे जिल्ला प्रशासनले जानकारी दिएको छ। प्रशासनले बिहीबार बेलुका पाँच बजेदेखि शुक्रबार विहान छ बजेसम्म गाडी चलाउन रोक लगाएको छ।
रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि १३ र १४ कात्तिकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागि बीपी राजमार्ग अन्तर्गत खुर्कोट बजारदेखि काठमाडौँतर्फ सवारीसाधन आवागमनमा निषेध गरेको छ।
वर्षा भइरहेका कारण नदीहरूमा बाढीको बहाव बढ्दा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अपिल गरेको छ।


