विराटनगर- कोशी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बिहान पार्टीको कोशी प्रदेश कमिटीको बैठकले यस्तो निर्णय लिएको हो।
एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै दलको नेतृत्वमा सरकार बनाउने वातावरण तयार गर्न एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी केन्द्रका साांसद गणेश उप्रेतीले जानकारी दिए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ,’ माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले भने।
कोशी प्रदेश माओवादी केन्द्र संसदीय दल र प्रदेश समितिका पदाधिकारीको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको थियो। माओवादी संसदीय दलको बैठकले सोमबार मात्र आफ्नै दलको नेतृत्वमा सरकार बनाउन तीन सदस्यीय पहल समिति बनाएको थियो। सरकारमा सहभागी मन्त्रीहरू सदस्य रहेको समितिमा संसदीय दलका नेता इन्द्र आङ्बो संयोजक थिए।
सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै माओवादीबाट मन्त्री बनेकाहरू जीवन आचार्य र दुर्गाप्रसाद चापागाईँ फिर्ता हुने भएका छन्। उनीहरूले मंगलबार नै मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेको बताइएको छ।
जेठ १७ गते जनता समाजवादी पार्टी (जसपा)ले कोसी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्वास्थ्यमन्त्री पदबाट निर्मला लिम्बूले राजीनामा दिएकी थिइन्। बुधबार उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी थिइन्।
९३ सदस्यीय प्रदेशसभामा लिम्बू जसपाकी एक्ली सांसद (प्रदेशसभा सदस्य) हुन्। उनी गत पुस २५ गते प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्। मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि लिम्बूले प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीको निर्देशन मानेर पदबाट राजीनामा दिएको बताएकी थिइन्।
कोशी प्रदेशको नाम खारेजीको माग राख्दै पहिचान पक्षधरले गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न पटक-पटक आग्रह गर्दा सरकारले नमानेका कारण पदमा बसिरहन नैतिकताले पनि नदिएको उनको भनाइ थियो।
उता नेपाली कांग्रेसका १४ जना जिल्ला सभापतिहरूले पनि पहिचान पक्षधरको आन्दोलनले प्रदेश अशान्त बनेको भन्दै तत्काल पुनर्विचार गर्न पार्टी नेतृत्वसँग माग गरेको छ। उसले यसअघि नै सरकारबाट बाहिरिन माओवादीलाई आग्रह गरेको थियो।
पहिचान पक्षधरको माग सम्बोधनका लागि पहल र नयाँ सरकार गठनको प्रयास प्रदेशमा सँगसँगै भइरहेको छ।
कोशीमा नेपाली कांग्रेसको २९ सिट छ। माओवादी केन्द्रसँग १३ र नेकपा एकीकृत समाजवादीले ४ सिट छन्। जसपासँग एक सिट छ। एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ सिट छन्।
माओवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि केन्द्रीय सत्ता गठबन्धन र एमाले राप्रपा दुवै तर्फ ४६-४६ सिट पुगेको छ। यस्तो अवस्थामा अवस्थामा माओवादीबाट सभामुख भएका बाबुराम गौतम निर्णायक बन्ने देखिएका छन्।
कोशीमा मुख्यमन्त्री पाए एमालेसँगको सहकार्य तोड्न माओवादी तयार!


