काठमाडौं। कर्मचारी सञ्चय कोषले पद्मा हस्पिटालिटीको जग्गा बिक्री नभएपछि तेस्रो पटक लिलामीको सूचना निकालेको छ।
सञ्चय कोषले सोमबार पद्मा हस्पिटालिटी प्रालिका लागि लिएको ऋण नतिरेपछि नागार्जुन नगरपालिका वडा नम्बर २ ठूलो भयाङमा रहेको २८ सय दुई वर्गमिटर ११ वटा कित्ता जग्गा बोलकबोलमार्फत एकमुष्ठ लिलाम गर्न लागेको हो।
कोषले एक साताभित्र जग्गा खरिदका लागि प्रस्ताव पेश गर्न भनेको छ। यसअघि कोषले दुई पटक लिलामीको सूचना निकालेको थियो।
व्यवसायी राजुप्रसाद कंडेलले पद्मा हस्पिटालिटी सञ्चालनका लागि सञ्चय कोषबाट ऋण लिएका थिए। सञ्चय कोषले ऋणी कंडेलले कारोबार सञ्चालन गर्न लिएको ऋणको भाखा नाघेको, सोको साँबा ब्याज नबुझाएको जनाएको छ।
कंडेलको पद्मा हस्पिटालिटीको नाममा काठमाडौंको नागार्जुन नगरपालिका २ ठुलो भर्याङमा रहेको जग्गा धितोमा राखेर ऋण लिएका थिए।
उक्त जग्गामा कंडेलले पद्म हस्पिटालिटीमार्फत दुई अर्ब ३० करोड रुपैयाँमा २०० कोठा भएको पाँचतारे ट्रान्क्विलिटी रोयल होटल सञ्चालनमा ल्याउने योजना बनाएका थिए।
होटल बनाउन एक अर्ब ८४ करोड ८० लाख रुपैयाँ बैंकको ऋण र बाँकी ४४ करोड ५० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने उनको योजना थियो। जसमा ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको थियो।
होटल आगामी वर्ष २०२६ को जनवरीमा सञ्चालनमा ल्याउने योजना त्यसबेला कँडेलले सार्वजनिक गरेका थिए। अहिले होटल बन्नुका साटो सञ्चय कोषले जग्गा लिलाम गरेर ऋण सकार्न लागेको छ।
कँडेल ऋण तिर्न नसकेपछि सांग्रिला डेभलपमेन्ट बैंक पनि सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ।
कंडेलले ऋण नतिरेपछि सांग्रिला डेभलपमेन्ट बैंकले गत असार ३१ गते सूचना प्रकाशित गरी जग्गा लिलामी प्रक्रिया अघि बढाएको हो।
सांग्रिलाबाट पद्मा कोलोनी हाउजिङ परियोजना बनाउन लिएको कर्जाको साँवा, ब्याज तथा हर्जाना रकम सर्तबमोजिम नतिरेकाले ३५ दिनको समय दिएको बैंकले जनाएको थियो।
पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा ऋण तिर्न चासो नदेखाई बेवास्ता गरेकाले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी तिर्न बाँकी ऋणको साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दस्तुर रकमसमेत चुक्ता भुक्तान गर्नुहुन अनुरोध गरेको थियो।
रामकोटको फेज पाँचमा तीन अर्ब ५० करोड र इटहरीको फेज ६ मा दुई अर्ब १८ करोड रुपैयाँ लगानी हुने कम्पनीले जनाएको थियो।
बैंकले पद्मा कोलोनीको नाममा रहेको काठमाडौं रामकोटस्थित २३ कित्ता र ललितपुरको लगनखेलमा रहेको एक गरी कुल २४ वटा कित्ता जग्गा लिलाम गर्न लागेको हो।
मेयरलाई घुस दिने व्यवसायी राजु कँडेल संकटमा, ऋण नतिरेपछि जग्गा लिलाम गर्दे सञ्चय कोष
पछिल्लो समय आर्थिक गतिविधि सुस्त भएपछि बैंक तथा वित्तीय संस्थालाई ऋण असूलीमा सकस परेको छ। ऋण असूली नहुँदा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ। गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सरकारले एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्न लागेको छ।
संकटमा परेका राजु कंडेल घुस काण्डमा दोषी
नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतलाई जग्गा मिलाइदिन घुस दिने व्यवसायी कंडेल अहिले गम्भीर आर्थिक संकटमा फसेका छन्। बैंकको ऋण तिर्न नसक्दा सम्पत्ति लिलामीको अवस्थामा पुगेका कंडेल दोषी ठहर भएका छन्।
विशेष अदालतका तत्कालिन अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनीका सञ्चालक कँडेलबाट मेयर बस्नेतले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको ठहर गरिसकेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा मेयर बस्नेत र उनका श्रीमति उर्मिला बस्नेत र घुस दिने कंडेलविरुद्ध भ्रष्टाचारका साथै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो ।
अख्तियारले तीनै जनाविरुद्ध जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो । यसैगरी सम्पत्ति शुद्धीकरणको मुद्दामा तीनैजनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दाबी गरिएको थियो।
भ्रष्टाचार मुद्दामा मेयर बस्नेत र कँडेललाई दोषी ठहर भएका छन् भने सम्पत्ति शुद्धीकरणमा मेयर बस्नेतलाई मात्र दोषी ठहर गरिएको छ।
अख्तियारले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र घरजग्गा व्यवसायी कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । तीनैजनाविरुद्ध भ्रष्टाचारमा जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो अख्तियारले दाबी गरेको थियो।
कँडेल पद्म अफ कम्पनीजको अध्यक्ष हुन्। कँडेल पद्म हस्पिटालिटी, पद्म मर्चेन्ट कम्पनी, धुनीवेसी आदर्श मल्टिपल कलेजलगायत थुप्रै संस्थाका सञ्चालक हुन्।


