काठमाडौं। लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले प्रिमियम महसुलको बक्यौता पहिलो किस्ता रकम बिहीबार तिरेको छ।
पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।
विद्युत प्राधिकरणका अनुसार रिलायन्सको ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो।
डेडिकेटेड–ट्रंकलाइन विवाद मिलाउन महासंघ सफल,एक किस्ता रकम धरौटीमा राख्न उद्योगी तयार
विद्युत प्राधिकरणले यही कात्तिक ४ गते रिलायन्स स्पिनिङ मिल्ससहित ६ र ८ गते थप १९ उद्योगको लाइन काटेको थियो।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले तत्काल पहिलो किस्ता बुझाउने र त्यसलाई धरौटीका रुपमा स्वीकार गरी पुनरवलोकन प्रक्रिया अगाडि बढाउने मध्यमार्गी प्रस्तावमा उद्योगी सहमत भएका थिए।


