काठमाडौँ: बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृद्धिका उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालले मुख्य सीमा नाकाहरूमा वरिष्ठ उपरीक्षकहरू (एसपीएस) लाई खटाएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्दै वैध व्यापारिक अभ्यासलाई प्रोत्साहन दिने उद्देश्यले यो व्यवस्था गरेको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बलका बाहिनी मुख्यालयसँग समन्वय गरी तोकिएको इकाइमा बसेर दैनिक तथा साप्ताहिक प्रतिवेदन महानिरीक्षकको सचिवालयमा पठाउने व्यवस्था मिलाइएको छ।
उनीहरूले निश्चित अवधिभित्र प्रभावकारी परिणाम देखाएमा संगठनले सो कार्यलाई निरन्तरता दिने र आवश्यक परे नयाँ उपरीक्षकहरूलाई जिम्मेवारी तोक्ने तयारी गरेको सशस्त्र प्रहरी बलले जनाएको छ। साथै सीमा क्षेत्रमा हुने कुनै पनि खबर, सूचना वा गुनासोका लागि सर्वसाधारण नागरिकले उनीहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ।
खटाइएका उपरीक्षकहरूले राजस्व चुहावट, चोरी–निकासी तथा पैठारीजस्ता गैरकानुनी गतिविधि नियन्त्रणमा राख्ने, संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने र सीमासम्बन्धी सूचनाको अभिलेखीकरण गर्ने जिम्मेवारी पाएका छन्। त्यस्तै, लागूऔषध, हातहतियार ओसारपसार, फरार कैदी तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउनेछन्।
भन्सार, राजस्व अनुसन्धान विभाग, उद्योग वाणिज्य संघ, स्थानीय निकाय, व्यापारी र सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रणका अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिनेछ। यसले वैध माध्यमबाट सामान आयात गर्ने वातावरण सृजना गर्न भन्सार कार्यालयलगायत निकायहरूसँग समन्वयमा सहयोग पुर्याउने विश्वास लिइएको छ।
सशस्त्र प्रहरी बलका अनुसार कोशी प्रदेश अन्तर्गत काँकडभिट्टा (झापा) र रानी (मोरङ) क्षेत्रको निगरानीका लागि वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी, मधेश प्रदेश अन्तर्गत वीरगञ्ज (पर्सा) र धनुषा क्षेत्रको निगरानीका लागि वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल, लुम्बिनी प्रदेश अन्तर्गत डण्डा (रुपन्देही), कृष्णनगर (कपिलवस्तु) र जमुनाह (बाँके) क्षेत्रको निगरानीका लागि वरिष्ठ उपरीक्षक रविनराज कर्णजीत र सुदूरपश्चिम प्रदेश अन्तर्गत त्रिनगर (कैलाली) र गड्डाचौकी (कञ्चनपुर) क्षेत्रको निगरानीका लागि वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ खटिएका छन्।


