काठमाडौँ: बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह विस्तार गर्न नसक्दा वित्तीय प्रणालीमा थप तरलता संकलनको आवश्यकता परेको छ। यही अवस्थालाई नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले आज (मंसिर ३ गते) ८४ दिनका लागि ५० अर्ब रूपैयाँ अधिक तरलता प्रशोचन गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन बोलकबोल (अक्सन) प्रणालीमार्फत् हुनेछ। सहभागी संस्थाले आफ्नो प्रस्तावित ब्याजदरका आधारमा प्रतिस्पर्धा गर्नेछन् भने संकलित रकमको साँवा तथा ब्याज फिर्ता २०८२ माघ २८ मा भुक्तानी गरिनेछ।
बोलकबोल प्रक्रियामा सहभागी हुन बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणकमा रकम प्रस्ताव गर्न सक्ने व्यवस्था छ। कुल आह्वान रकमभित्र निःशेष भाग जाने गरी आवेदन दिन सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
मंसिर महिनामा प्रवेशसँगै राष्ट्र बैंकले तरलता संकुचनका लागि चालिएको यो पहिलो कदम हो। लगातार बढ्दो निष्क्रिय तरलताले बैंकिङ प्रणालीमा लगानीयोग्य कर्जा विस्तार गर्न चुनौती बनेको बेला केन्द्रीय बैंकको यो कदमले अल्पकालीन तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
