काठमाडौँ: चालू आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म सात विकास बैंकहरुले सेयरधनीलाई दिन लाभांश घोषणा गरेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १५ विकास बैंकमध्ये हालसम्म सातले लाभांश घोषणा गरेका हुन्।
लाभांश घोषणा गर्नेमा शाइन रेसुङगा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन्। कतिपय कम्पनीले लाभांश साधारण सभाबाट पारित गरिसकेका छन् भने केहीको साधारणसभा हुन बाँकी छ।
सबैभन्दा बढी लाभांश वितरण गर्ने विकास बैंकको सुचिमा मुक्तिनाथ रहेको छ। सबै बैंकले बोनश शेयर भन्दा नगद लाभांश नै बढी दिएको देखिएको छ। जसमा मितेरीले नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ। विकास बैंकहरूले समग्रमा शेयरधनीलाई आकर्षक प्रतिफल प्रदान गरेको देखिन्छ। साता बैंकको लाभांश न्यूनतम् १० प्रतिशत देखिएको छ।
मुक्तिनाथ विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १८.२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले १३.५३ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश बैंकको कात्तिक १५ गतेको साधारण सभाले पारित गरिसकेको छ।
गरिमा विकास बैंक
गरिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा ६ प्रतिशत बोनश र ४.५३ प्रतिशत नगद लाभांश समावेश छ। यो प्रस्ताव बैंकको १९औँ वार्षिक साधारण सभाबाट पारित भइसकेको छ।
कामना सेवा विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले १० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । यस्तै ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ।
शाइन रेसुङगा डेभलपमेन्ट बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये बैंकले ३ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ भने १० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । यही मंसिर २६ गते वार्षिक साधारणसभाले पारित गर्ने बैंकले जनाएको छ।
महालक्ष्मी विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.३७ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमध्ये बैंकले ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन।
सांग्रिला डेभलपमेन्ट बैंक
बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०८१–८२ को नाफाबाट चुक्ता पुँजीको १०.३५ प्रतिशतले हुन आउने रकम ३६ करोड ८३ लाख ६६ हजार रुपैयाँ बराबरको प्रतिफल दिने भएको छ। कम्पनीका सेयरधनीले ५ प्रतिशत बोनस सेयर र ५.३५ प्रतिशत नगद लाभांश पाउनेछन्। कम्पनीको चुक्ता पुँजी अहिले ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन्।
मितेरी डेभलपमेन्ट बैंक
बैंकले शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमा बैंकले नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ। बैंकले मंसिर ६ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरान–१स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेबाट सुरु हुनेछ।
यसरी हालसम्म सात बैंकले लाभांश घोषणा गरिसकेकाले बाँकी आठ बैंकले अझै लाभांश घोषणा गर्न बाँकी छ। आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र सार्वजनिक कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बाँकी बैंकलाई अझै करिब दुई महिनाको समय रहेको छ।


