काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश गरेको छ। आफ्ना बुवालाई गैरकानुनी थुनामा राखिएको भन्दै उनका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईँलाई छाड्न आदेश गरेको हो।
सर्वोच्चको आदेशपछि प्रसाईँलाई छोरा निराजनको जिम्मा लगाइएको छ।
शुक्रबार सर्वोच्चले बन्दी रिटमा सुनुवाई गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन प्रहरीसहित विपक्षीका नाममा आदेश जारी गरेको थियो।
प्रसाईँलाई गएको सोमबार राति भक्तपुरस्थित निवासबाट जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो।
पछिल्लो समय राष्ट्र, राष्ट्रियता धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँले आगामी मंसिर ७ गतेदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए। तर शनिबार उनको समूहले आन्दोलन फिर्ता लिएको थियो।


