गण्डकी। पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजनाअन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ।
उक्त सडक योजनाको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको छ।
शनिबारदेखि पुलमा ‘गिर्डर लञ्चिङ’ को काम भइरहेको उनले बताए।
“अहिलेसम्म चार वटा गिर्डर लञ्चिङ भइसकेको छ, अझै ११ वटा गिर्डर लञ्चिङ गर्न बाँकी छ”, प्रमुख कुँवरले भने, “गिर्डर लञ्चिङपछि पुलको स्लाब र दुवैतर्फको सडक ढलान हुन्छ” आउँदो बिहीबारसम्मलाई बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द गरेर ‘गिर्डर लञ्चिङ’ को काम गरिएको हो।
सडक ठेक्काअन्तर्गत उक्त पुल निर्माण भइरहेको हो। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नति गरिरहेको छ।
यस खण्डमा विजयपुर खोलासँगै सेती नदीमा पुल निर्माण भइरहेको छ। पोखरा–९ र १० लाई जोड्ने गरी सेती नदीमा निर्माणाधीन उक्त पुलको भौतिक प्रगति ५३ प्रतिशत पुगेको प्रमुख कुँवरले बताए।
गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलको प्रगति न्यून देखिएको हो। विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो ।
‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार वटा जगको काम पूरा भइसकेको छ। चार वटा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख कुँवरले जानकारी दिए।
छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाई छ। एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो।
५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो। सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका हुन्।
आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका छन्। तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो।
“पश्चिम खण्डमा विजयपुर खोला र सेती नदी पुल मात्र निर्माणको चरणमा छ, अन्य पुल बनेर पनि सञ्चालनमा आइसकेका छन्”, प्रमुख कुँवरले भने।
पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ। हालसम्म उक्त सडकको भौतिक प्रगति झण्डै ६१ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत पुगेको छ।
कूल ३८.८८ किमी दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र, २९.६१ किमिमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको जनाइएको छ।
