काठमाडौँ: भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले ६ लाख ४४ हजार कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
मङ्सिर १० गते बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ। यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ। अत्याधुनिक सिट मोल्डिङ कम्पाउन्ड (एसएमसी) प्रविधिमा आधारित कभरहरू, डब्लु पी सी उच्च घनत्व होलो ढोका ९, पार्टेशन बोर्ड एवम् वाल क्याडिङ्ग, वाल प्यानल जुन पानी, किरा, घाम र चिसोपन प्रतिरोधी हुनुका साथै दिगोपनाको दृष्टिले उत्कृष्ट, बलियो, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त छन्।
फाइबर रेनफोस्र्ड प्लास्टिक टेक्नोलोजी अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड तथा अन्य सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आइरहेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो।


