काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानीमा मनाङमा ६१ मेगावाटको नारखोला जलविद्युत आयोजना बनाउन लगानी जुटेको छ।
सोमबार आयोजित एक कार्यक्रममा नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्।
आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले ऋण लगानी गर्ने भएका छन्।
आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। जसमा बैंकहरुले नौ अर्ब ६३ करोड ऋण र संस्थापकहरुको स्वपुँजी(इक्विटी) तीन अर्ब २१ करोड रुपैयाँ रहेको छ।
आयोजनाले आगामी ३ वर्षभित्र विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको जानाएको छ।
मनाङ्स्थित नार्पा भुमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो।
आयोजनाको प्रबद्र्धक कम्पनी नारखोला हाइड्रो इनर्जीले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता (पीपीए) भैसकेको छ।
आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहनेछ। वार्षिक ३६ करोड ६४ लाख ८ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
आयोजनाको हेडरेस टनेल ८ किलोमिटर लामो रहेको छ।
आयोजनाको बाँध तथा हेडवक्सका संरचनाहरु नार्पा भुमि गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत गृहमा नार्पा भुमि र नासोङ गाउँपालिका हुँदै आएको सुरुङमार्गमार्फत पेनस्टक पाईपको प्रयोग गरि विद्युतगृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ।
आयोजनाबाट उत्पादित विद्युत विद्युत प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ।


